मुख्य समाचार

बढ्दो सेना सुरक्षा सतर्कता

By थाहा अनलाइन

November 24, 2017

सैघाली खबर काठमाडौं ,८ मंसिर

मंसिर १० मा हुने पहिलो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदान केन्द्रदेखि बाह्य सुरक्षासम्मका लागि नेपाली सेनाले आफ्नो सक्रियता बढाएको छ।

आफ्नो गस्ती बढाउँदै सेना निर्वाचन सुरक्षामा बढी सक्रिय भएको हो। सेनाले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका साथै दोस्रो चरणका ४५ जिल्लाको प्रचारमा समेत निगरानी राखेको छ।

सेना बाहिरी घेरामा रहेर नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगको समन्वयमा उम्मेदवारको सुरक्षा गर्ने, निर्वाचन अवधिभर बन्दुक, खुकुरी, चेन, लाठीलगायत हतियार बोकेर हिंडडुल गर्न नदिने काममा समेत सहयोगी बनेको छ। हतियार तथा विस्फोटक पदार्थ बोकेको कुनै व्यक्ति भेटेमा सेनाले तत्काल कारबाहीसमेत गर्न सक्नेछ।

निर्वाचनको केही दिनअघिसम्म बम विस्फोटलगायत घटना बढेपछि सेनाले आफ्नो सक्रियता बढाएको जनाएको छ। भित्री घेरामा सुरक्षा दिने र जनतासँग प्रत्यक्ष सम्पर्कमा रहने काम नेपाल प्रहरीको हो।

मतदान केन्द्रको बाहिरी सुरक्षासहित महत्त्वपूर्ण आधा दर्जन क्षेत्रको सुरक्षा जिम्मामा रहेकाले सेना बढी सक्रिय बनेको हो। ‘तर, सेना स्वयं अग्रसर हुँदैन। आपतकालीन अवस्था आउँदा भूमिका निर्वाह गर्छ,’ एक उच्च सैन्य अधिकारीले भने, ‘सेनाले सबै स्थानको अध्ययन गरेर बसेको छ। अवाञ्छित तत्त्वहरूको भूमिकालाई पनि नियालिरहेको छ।’

निर्वाचनमा ६१ हजारभन्दा बढी सैनिक खटिइसकेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। ‘निर्वाचनविरोधी गतिविधिमा संलग्न हुन सक्ने सम्भावित पक्षलाई हामीले नजिकबाट नियालिरहेका छौं,’ सेनाका प्रवक्ता सहायक रथी नयनराज दाहालले भने, ‘सादा पोसाकमा प्रहरी खटिएजस्तै नेपाली सेनाले पनि आफ्नो निगरानी गरिराखेको छ। चुनावविरोधी गतिविधि गर्ने जोसुकै भए पनि सजायका भागीदार हुन्छन्।’

संयुक्त सुरक्षा योजनाअनुसार सेना अगाडि बढेको र निर्वाचनविरोधी गतिविधि हुन नदिन सक्रिय रहेको पनि दाहालले बताए। निर्वाचन बिथोल्ने र विस्फोटक पदार्थ बोक्ने समूहलाई सेनाले भौतिक कारबाही नै गर्ने सैन्य अधिकारीले जनाएका छन्।