मुख्य समाचार

मौन अवधि सुरु हुने, आचारसंहिता उल्लंघन गरे कानूनी कारबाही हुने

By थाहा अनलाइन

November 24, 2017

सैघाली खबर काठमाडौं,८ मंसिर

३२ जिल्लामा हुने पहिलो चरणको निर्वाचनका लागि गएराति देखि मौन अवधि सुरु भएको छ । प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि मौन अवधि सुरु भएपछि निर्वाचन सम्पन्न नहुन्जेल सम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्तिहरू, राजनीतिक दलका पदाधिकारीहरू, स्वतन्त्र उम्मेदवारहरू, नागरिक समाज, आम मतदाता तथा सञ्चार माध्यमले कुनै पनि प्रकारका चुनावी प्रचार प्रसारमा संलग्न हुन पाइदैन ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले आचारसंहिताको उल्लङ्घन गरी त्यस्तो क्रियाकलापमा लागेको पाइएमा उम्मेदवारी खारेजदेखि जरिवानासम्म गर्न सक्ने कानूनी व्यवस्था भएको  बताउनुभयो ।

निर्वाचनको मौन अवधिमा समाचार माध्यमहरूबाट प्रकाशन तथा प्रसारण गरिने समाचारजन्य सामग्रीबाट मतदातालाई समेत प्रभाव पर्ने भएकाले सो अवधिमा निर्वाचन आचारसंहिताविपरीत हुने कुनै पनि प्रकारका सामग्री प्रकाशन तथा प्रशारण नगर्न निर्वाचन आयोगले आग्रह गरेको छ।

निर्वाचन आचारसंहिता मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने, मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्ने तथा एसएमएस, फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने व्यवस्था रहेको छ ।