रोजगारीमा कतार पुगेका नेपाली कामदारको रोजगार गुम्दै



 

सैघाली खबर 

काठमाण्डौ, ८ मंसिर 

वैदेशिक रोजगारीका लागि कतार नेपाली कामदारको एउटा महत्त्वपूर्ण गन्तव्य हो । करिब साढे तीन लाख नेपाली कामदार रहेको कतारमा भारतीयपछि सबैभन्दा धेरै संख्या नेपालीकैे छ ।

भारतीयको संख्या सन् २०१७ मा करिब ६ लाख देखिन्छ । स्थानीयवासी कतारीको संख्या नै नेपालीको भन्दा कम अर्थात् ३ लाख १३ हजारमात्र रहेको छ । तर, हालै साउदी अरेबियाको नेतृत्वमा कतारमाथि यसका छिमेकी देशहरूले नाकाबन्दी गरेपछि नेपालीको रोजगारीमा सिधै असर पर्न थालेको छ ।

कतारले आतंकवादीलाई सघायो भन्ने आरोपमा साउदी अरबलगायत संयुक्त अरब इमिरेट्स र बहराईनले नाकाबन्दी लगाएपछि कतारमा रहेका ती देशका कंपनी बन्द हुनथालेका छन् । अहिले नाकाबन्दीले मूलतः नाकाबन्दी लगाउने देशका कंपनी बन्द भएर हजारौं नेपालीको रोजगारी सकिएको हो ।

कतारमा नेपालीको रोजगारीका सम्बन्धमा कान्तिपुरका संवाददाता होम कार्कीले काठमाडौंबाट लेखेको समाचारअनुसार साउदीको कतारमा रहेको अलमराई कंपनीबाट मात्रै ३ सय बढी नेपाली कामदारको जागिर गएको छ र तिनीहरू नेपाल फर्किसकेका छन् । त्यस्तै हजारौं कामदारलाई रोजगारी दिने सीडीसी, बुम कन्स्ट्रक्सन, सीसीसी, अल मन्नाई ट्रेडिङ्, सप्तन ट्रेडिङ एन्ड कन्स्ट्रक्सन, अल रुबाबी, कतार इन्फ्रास्ट्रक्चर, लेसलगायत कंपनीले पनि जागिरबाट निकालेर नेपाली कामदार फर्काउन थालेका छन् ।

 

नाकाबन्दीपछि कतारमा महँगी पनि ६० प्रतिशतभन्दा बढी बढेको र काम गरेर जम्मा गरेको पैसा नेपाल पठाउनसमेत कामदारलाई कठिनाइ भएको समाचार कान्तिपुरले प्रकाशित गरेको छ । नेपालीहरू कार्यरत रहेका केही साना कंपनी आफैँले काम पाउन छाडेको कारण पनि नेपालीहरूको जागिर असुरक्षित भएको र कतिपय कंपनीले काम छाड्दा कर्मचारीले पाउनुपर्ने सबै सुविधासमेत हिसाबै नगरी फिर्ता पठाएका छन् भनेर पनि समाचारमा जनाइएको छ । यसरी नेपालीहरू बिस्तारै फर्कन थालेपछि जागिर नगएकाहरूमा पनि त्रास बढेर गएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्