पुरानै लयमा पाम तेल, २२ प्रतिशतले बढ्यो निर्यात



काठमाण्डौ । भारत सरकारको निर्णयका कारण माघ महिनाभर निर्यात प्रतिबन्ध भएको पाम तेलको निर्यात फागुनमा भने पुरानै लयमा फर्किएको छ । नेपालबाट पाम तेलको निर्यातको सबैभन्दा ठूलो बजार रहेको भारतले पुस २३ गते एक्कासि पाम तेल आयातमा प्रतिबन्ध लगाएको थियो । नेपालबाट सबैभन्दा धेरै निर्यात भएको वस्तुमा परेको पाम तेलको निर्यातमा प्रतिबन्ध लागेपछि नेपालको समग्र निर्यात व्यापारमै असर परेको थियो ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको फागुनसम्म कुल १५ अर्ब ३५ करोड रुपियाँको पाम तेल निर्यात भएको छ । यो पुसको तुलनामा करिब एक अर्ब ४६ करोड रुपियाँले बढी हो । भारतको प्रतिबन्धको असर माघ महिनाभर परेकोले उक्त महिना नेपालबाट पाम तेल निर्यात हुन सकेन । भारतको प्रतिबन्धपछि नेपालले बारम्बार पाम तेलको निर्यात खुलाउन आग्रह गरेको करिब डेढ महिनापछि भारतले त्यहाँका आयातकर्तालाई लाइसेन्स दिएर मात्र आयात गर्न सक्ने व्यवस्था लागू गरेको थियो । यद्यपि अहिले उक्त लाइसेन्सको व्यवस्था भारतले रोकेको छ । नेपालले त्यस्तो लाइसेन्स खुलाउन पनि भारतसँग आग्रह गरिसकेको छ । भारतले यसमा सकारात्मक प्रतिक्रिया जनाएको छ ।

दक्षिण एसिया स्वतन्त्र व्यापार क्षेत्र ९साफ्टा०अन्तर्गत नेपालबाट हुने निर्यातमा सहुलियतपूर्ण सुविधा रहेकोले अन्य देशबाट कच्चा पदार्थ आयात गरेर नेपालमा प्रशोधन गरी भारत निर्यात हुँदै आएको छ । यसो हुँदा पाम तेलको भन्सार शुल्क कम तिरे पुग्ने सुविधा नेपाली उद्योगीलाई थियो । अन्य देशबाट आयात गर्दा भन्सार शुल्क ४० प्रतिशत तोकिएकोले पनि नेपालमा अहिले पाम तेल प्रशोधन उद्योग फस्टाएका थिए ।

२२ प्रतिशतले बढ्यो निर्यात
भन्सार विभागले आइतबार सार्वजनिक गरेको फागुनसम्मको व्यापारसम्बन्धी तथ्याङ्क अनुसार नेपालको निर्यात अघिल्लो फागुनको तुलनामा २२।३५ प्रतिशतले बढेर ७४ अर्ब ९० करोड रुपियाँ पुगेको छ । गत फागुनमा नेपालबाट ६१ अर्ब २२ करोड रुपियाँको निर्यात भएको थियो । नेपालबाट धेरै हुने वस्तुमा पाम तेल सबैभन्दा अगाडि छ । त्यसपछि सात अर्ब ५२ करोड रुपियाँको सोयाबिन तेल निर्यात भएको छ । चार अर्ब ९० करोड रुपियाँको गलैँचा निर्यात भएको छ । चौथो स्थानमा रहेको धागो दुई अर्ब ३५ करोड रुपियाँको निर्यात भएको छ । पाँचौँमा दुई अर्ब १९ करोड रुपियाँको ऊनीको निर्यात भएको विभागले जनाएको छ ।

यसबीचमा नेपालको अन्तर्राष्ट्रिय व्यापारको आकार ९९ अर्ब ९१ करोड रुपियाँ पुगेको छ । जुन अघिल्लो वर्षको तुलनामा १।११ प्रतिशतले कम हो । आयात गत फागुनको तुलनामा २।६२ प्रतिशतले घटेर नौ अर्ब २४ करोड रुपियाँ पुगेको छ । व्यापार घाटा पनि ४।३४ प्रतिशतले घटेर ८४ अर्ब ९३ करोड रुपियाँ पुगेको विभागको तथ्याङ्कले देखाएको छ । यसबीचमा नेपालले भारतबाट पाँच खर्ब ६६ अर्ब रुपियाँको आयात गर्दा ५२ अर्ब २७ करोड रुपियाँको निर्यात गरेको छ ।

चीनबाट एक खर्ब ४६ अर्बको आयात हुँदा एक अर्ब आठ करोड रुपियाँको मात्र निर्यात भएको छ । इन्डोनेसियाबाट २४ अर्ब ६७ करोड रुपियाँको आयात भएको छ । नेपालबाट इन्डोनेसिया १२ करोड रुपियाँको निर्यात भएको छ । संयुक्त अरब इमिरेट्सबाट १५ अर्ब ६० करोडको आयात हुँदा २१ करोड २५ लाख रुपियाँको निर्यात भएको छ । संयुक्त राज्य अमेरिकामा नेपालले सात अर्ब ४३ करोड रुपियाँको वस्तु निर्यात गरेको छ र त्यहाँबाट १५ अर्ब १६ करोड रुपियाँको आयात गरेको छ ।

फागुनसम्म सबैभन्दा धेरै अर्थात् ६७ अर्ब रुपियाँको डिजेल आयात भएको छ । दोस्रोमा ३२ अर्ब २४ करोडको स्टिल, तेस्रोमा २३ अर्ब ९८ करोड रुपियाँको पेट्रोल, चौथोमा २१ अर्ब ६३ करोडको एलपी ग्यास र पाँचौँमा १४ अर्ब ६२ करोड रुपियाँको हवाईजहाज तथा एयरक्राफ्ट आयात भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्