विदेशी लगानी विना बूढीगण्डकीको विकास गर्ने मन्त्रि परिषद्‍को निर्णय



सैघाली खबर

काठमाडौं, ८मंसिर

सरकारले बुढिगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमै निर्माण गर्ने निर्णय गरेको हो।

चीनको गेजुवा कम्पनीलाई निर्माण गर्न दिने अघिल्लो सरकारको निर्णय खारेज गरेर सरकारले यो आयोजना स्वदेशी लगानीमै निर्माण गर्ने निर्णय गरेको छ। बुढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानी र प्रविधिमै निर्माण गर्ने निर्णय गरिएको उपप्रधानमन्त्री एवम् उर्जामन्त्री कमल थापाले जानकारी दिए।

सरकारले आयोजना निर्माणका लागि आवश्यक लगानीको खाका तयार पार्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.स्वर्णिम वाग्लेको नेतृत्वमा अर्थ सचिव, उर्जा सचिव र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक सदस्य सचिव रहने गरी समिति नै बनाएको छ। मन्त्रिपरिषद बैठकले बुढिगण्डकी जलविद्युत आयोजना निर्माणको काम ८ वर्षभित्र पूरा गरिसक्ने लक्ष्य पनि लिएको छ।

त्यसैगरी सरकारले बुद्धिबहादुर खड्कालाई सचिवमा बढुवा पनि गरेको छ। स्वास्थ्यतर्फ डा। सुशीलनाथ प्याकुरेल र डा। तरुण पौडेललाई १२ औं तहमा बढुवा गरिएको छ।

सरकारले हेटौडा अस्पताल, सेती अञ्चल अस्पताल र रुपन्देहीस्थित भीम अस्पतालको स्तरोन्नति गर्ने निर्णय पनि गरेको छ। हेटौंडा अस्पतालमा ३ सय, सेती अञ्चल अस्पतालमा ३ सय र भीम अस्पतालमा ५० शैया स्तरोन्नति गर्ने निर्णय गरिएको पनि उपप्रधानमन्त्री एवम् उर्जा मन्त्री थापाले जानकारी दिए।

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरित हुने गरी सरुवा, वढुवा लगायतका काम नगर्न सरकारलाई पटक पटक सचेत गराउँदै आएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्