समाचार

शान्ति सम्झाैताकाे एकमात्र जीवित हस्ताक्षरकर्ता : प्रचण्ड

By थाहा अनलाइन

November 25, 2017

सैघाली खबर, चितवन ९ मसिंर। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा विकासको लहर ल्याउनका लागि वाम गठबन्धन गर्नुपरेको बताएका छन । संयुक्त वाम गठबन्धनद्वारा शिवनगरमा आयोजित कार्यक्रममा उनले विकासको लहरमा समाहित हुन सबैसँग आग्रह गर्दै शान्तिसम्झौताको एकमात्र जीवितकर्ता आफु भएको बताए । चितवनको अभिमतबाट राष्ट्रको नेतृत्व आफूले गर्न लागेको भन्दै अध्यक्ष दाहालले भने “सही समयमा सही निर्णय गर्नुपर्छ ।” उनले यो देशको सामाजिक न्यायका निम्ति आफ्नो उम्मेदवारी रहेको भन्दै अब आफ्नो एजेण्डा आर्थिक समृद्धिको हुनेछ र देश अव समाजवादको बाटोमा हिड्ने बताए । लामो समयसम्म राजनीतिक उपलब्धि प्राप्तिका लागि लागेको चर्चा गर्दै अध्यक्ष दाहालले अब हामी सबै मुलुकको समृद्धिका लागि जुट्नुपर्ने बताए । चितवनको विकास र समृद्धिका लागि आफू गृहजिल्ला आएको भन्दै प्रचण्डले विकास निर्माणमा नेपाली लाग्नु पर्ने बताए । सो अवसरमा भरतपुर महानगरपालिका–१९ को बखान सहकारी संस्थाका अध्यक्ष मोहनसिंह लामा, प्रकृति आमा समूहकी अध्यक्ष सन्जु तामाङलगायत काँग्रेस त्यागेर माओवादी केन्द्रमा प्रवेश गर्नेको लर्को नै लागेको थियो ।