प्रदेश नम्बर तीनमा पहिलो चरणमा कुन–कुन जिल्लामा चुनाव हुँदैछ ?



सैघाली खबर,
काठमाडौं,९ मंसिर –। प्रदेश नम्बर तीनका छ वटा जिल्लामा पहिलो चरणमा चुनाव हुँदैछ । प्रदेश तीनका १३ जिल्लामा ३३ वटा निर्वाचन क्षेत्र रहेका छन् । यीमध्ये नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछापका ९ वटा निर्वाचन क्षेत्रमा पहिलो चरणमा चुनाव हुनेछ ।
यो प्रदेशमा जम्मा ३० लाख ७४ हजार ३ सय ८४ मतदाता रहेका छन् । यीमध्ये पहिलो चरणमा १० लाख १ हजार ४० मतदाता छन् । २० लाख ७३ हजार ३ सय ८४ जना मतदाता दोश्रो चरणमा चुनाव हुने क्षेत्रका हुन् ।
प्रदेश तीनमा १ हजार ७ सय ८० वटा मतदान स्थलमा ३ हजार ७ सय ८५ वटा मतदान केन्द्र छन् । यी मध्य ६ सय मतदानस्थलका १ हजार २ सय ४६ वटा मतदान केन्द्रमा पहिलो चरणमा चुनाव हुनेछ । प्रदेश नम्बर तीनमा ९७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
प्रदेश नम्बर तीनको चुनाव हुने जिल्लामध्ये धादिङमा सबैभन्दा बढी मतदाता रहेका छन् भने सिन्धुपाल्चोकमा बढी उम्मेदवार छन् । दुई निर्वाचन क्षेत्र रहेको धादिङमा २ लाख ३३ हजार ५ सय ५ जना मतदाता र १९ जना उम्मेदवार रहेका छन् । २२ जना उम्मेदवार रहेको सिन्धुपाल्चोकका दुई निर्वाचन क्षेत्रमा २ लाख २६ हजार ५ सय ४० जना मतदाता रहेका छन् ।
नुवाकोटका दुई निर्वाचन क्षेत्रमा १८ जना उम्मेदवार र २ लाख ८ हजार १ सय ९१ जना मतदाता रहेका छन् । प्रदेश नम्बर तीनको कम उमेदवार र मतदाता भएको जिल्ला रसुवामा ११ जना उम्मेदवार र ३२ हजार ३ सय २२ जना मतदाता छन् ।
दोलखामा १५ जना उम्मेदवार र १ लाख ४७ हजार ९ सय २३ मतदाता र १२ जना उम्मेदवार रहेको रामेछापमा १ लाख ५२ हजार ५ सय ५९ जना मतदाता रहेका छन् । धादिङका १ सय ९ मतदान स्थलमा २ सय ७५ मतदान केन्द्र, नुवाकोटका १ सय २९ मतदानस्थलमा २ सय ६० मतदान केन्द्र, सिन्धुपाल्चोकका १ सय ४४ मतदानस्थलमा २ सय ८५ मतदान केन्द्र रहेका छन् ।
यस्तै रसुवाका ३४ मतदान स्थलमा ४५ मतदान केन्द्र, दोलखाका ९४ मतदान स्थलमा १ सय ९० मतदान केन्द्र र रामेछापका ९० मतदान स्थलमा १ सय ९१ वटा मतदान केन्द्र रहेका छन् । बाँकी जिल्लामा दोश्रो चरणमा चुनाव हुनेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्