लकडाउन : ८ दिन थप्ने सरकारको निर्णय




काठमाण्डौँ, चैत्र १६
सरकारले थप ८ दिन लकडाउन गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले ८ दिन लकडाउन बढाउने निर्णय गरेको एक मन्त्रीले बताए ।

यसअघि कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले जारी लकडाउन बढीमा १४ दिनसम्म थप्नुपर्ने निष्कर्ष निकाल्दै मन्त्रिपरिषद्मा प्रस्ताव पठाउने निर्णय गरेको थियो । जसअनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन ८ दिन थप्ने निर्णय गरेको हो ।

सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणको उद्देश्यका साथ गत चैत ११ गते बिहान ६ बजेदेखि लागू हुनेगरी एक साता लकडाउनको घोषणा गरेको थियो । सो लकडाउनको समयावधि चैत १८ गते बिहान ६ बजेदेखि सकिँदैछ । त्यसपछि पनि थप ८ दिन लकडाउन हुनेछ ।

कोरोना संक्रमणको जोखिम अझै रहेको भन्दै सरकारले लकडाउनको समयावधि लम्ब्याउने निर्णय लिएको हो । नेपालमा हालसम्म ५ जनामा कोरोनाको संक्रमण देखिइसकेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्