सीमामा रोकिएका नेपाली ट्युबबाट धमाधम नेपालतर्फ



दार्चुला। नेपाल–भारत लकडाउनको मौका छिपी भारतका विभिन्न क्षेत्रबाट नेपालीहरू ट्युबमार्फत नेपाल भित्रिएका छन् । मालिकार्जुन गाउँपालिका र लेकम गाउँपालिका भएर भारतमा काम गर्ने नेपाली घर फर्किएका हुन् ।

यो क्षेत्रका स्थानीय मात्र नभई बैतडी र बझाङका नेपाली मजदुर ट्युबमार्फत घर फर्किएका हुन् । दुवै देश लकडाउन भइरहेको बेला भारतमा रोकिएर रहेका नेपाली ट्युबमार्फत घर फर्किएको स्थानीय बताउँछन् ।

ट्युबमा चढेर दिनहुँ नेपाली मजदुर भित्रिएका छन् । प्रतिव्यक्ति १ हजार रुपैयाँ तिरेर उनीहरू नेपाल प्रवेश गरेको एक स्थानीयले बताए । मालिकार्जुनको बाकु, गराडी, चुकिला डिन्सीलगायत क्षेत्रबाट रातको समयमा भारतबाट स्थानीय ट्युबमार्फत नेपाल आउने गरेको स्रोतको दाबी छ ।

त्यहीँका स्थानीयले अहिले विपद्को समयमा आम्दानीको स्रोतका रूपमा ट्युब बनाएका छन् । उकु बाकु हुँदै शुक्रबार राति २५ जना र शनिबार सोही संख्यामा मजदुर घर फर्किएको मालिकार्जुनका स्थानीय हीरासिंह धामीले जानकारी दिए । चेकजाँचबिना उनीहरू गाउँ पसेपछि गाउँमा जोखिम बढेको उनले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्