चिनियाँ राष्ट्रपति सीलाई प्रचण्डको पत्र, के लेखिएको छ पत्रमा ?



काठमाडौं । सत्ताारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोना भाइरस कोभिड–१९ विरुद्ध जुध्न चिनियाँ सहयोगको आग्रह गरेका छन् । दाहालले १३ चैतमा चिनियाँ राष्ट्रपति सी चिनफिङलाई विशेष पत्र लेख्दै नेपाललाई कोभिड–१९ सँग लड्नका लागि सहयोग गर्न अपिल गरेका हुन् । दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले सीलाई पत्र पठाइएको पुष्टि गरे । दाहालले कोभिड–१९ को महामारी नियन्त्रण गर्न सफल भएकामा सीलाई बधाई दिँदै नेपाललाई पनि यो महामारीसँग जुध्न आवश्यक सहयोग गर्न अपिल पत्रमार्फत गरेका हुन् ।

‘चीनले कोरोना संक्रमणलाई सफलतापूर्वक नियन्त्रण गरेको मैले मिडियाहरुका समाचारबाट थाहा पाएको छु, कोरोना भाइरससँगको यो लडाइँमा जित हात पारेकोमा म नेकपाका तर्फबाट चीन सरकार र चिनियाँ जनतालाई बधाई दिन चाहान्छु’, दाहालले लेखेको पत्र उद्धृत गर्दै सापकोटाले भने, ‘नेपाल पनि अहिले यो महामारीसँग जुध्‍न लागिपरेको छ । यसका लागि खासगरी औषधि र अन्य मेडिकल सामग्री नेपाललाई जतिसक्दो छिटो सहयोग गर्न म नेपाली जनता र नेकपाका तर्फबाट अपिल गर्दछु ।’

दाहालले चीनले नेपाललाई गर्दै आएको सहयोगप्रति नेपाली जनता सधैं आभारी रहँदै आएकाले यसपटक पनि सक्दो सहयोगको अपेक्षा नेपालीले गरेको पत्रमा उल्लेख गरेका छन् । नेपालमा कोभिड–१९ को संक्रमण पाँच जनामा देखापरेको छ । सरकारले यसको नियन्त्रणका लागि चैत ११ यता देशभर लकडाउन गरेको छ । औषधिलगायत आवश्यक सामग्री जुटाउन सरकार लागिपरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्