आजदिनभर हवाईगस्ती



सैघाली खबर
काठमाण्डौ,१० मंसिर । पहिलो चरणको निर्वाचनका दिन नेपाली सेनाले दिनभरि हवाई गस्ती गर्ने भएको छ। त्यसका लागि राजधानी काठमाडौं सहित नेपाली सेनाका सातवटै पृतनाहरुमा जहाज र हेलिकोप्टरहरु तैनाथ गरिएका छन्। ३२ जिल्लाका उच्च हिमाली तथा पहाडी आज हुन भईरहेको मतदान सुरक्षा व्यवस्थालाई मध्येनजर गर्दै हवाई गस्ती गरिन लागेको हो ।

 

जस अनुसार प्रदेश–१ अन्तर्गत इटहरीमा एक एमआई–१७ हेलिकोप्टर तैनाथ गरिएको छ। प्रदेश–२ मा भने पहिलो चरणमा निर्वाचन नहुने भएकाले त्यहाँ हेलिकोप्टर व्यवस्था गरिएको छैन।

यसैगरी प्रदेश–३ का लागि पनि हेटौंडामा एउटा हेलिकोप्टर छुट्ट्याइएको छ। प्रदेश–४ का लागि एक एक्युरल हेलिकोप्टर पोखरा पुगेको छ।

बुटवलमा पनि अर्को एक हेलिकोप्टर तयारी अवस्थामा छ। सुर्खेतका लागि पनि एक एमआई–१७ हवाई गस्तीका लागि तयारी अवस्थामा छ। दिपायलका लागि एक वेल हेलिकोप्टर पठाइएको छ।

उपरोक्त स्थानमा सम्बन्धित प्रदेश हेर्ने गरी सैनिक पृतना मुख्यालय राखिएका छन्। सैनिक स्रोतले भन्यो, ‘सम्बन्धित प्रदेश अन्तर्गत जहाँ–जहाँ चुनाव हुँदैछन्, पृतना मुख्यालयमा राखिएका हेलिकोप्टरहरुले ती जिल्ला र निर्वाचन क्षेत्रमा गस्ती गर्नेछन्।’

नेपाली सेनासँग १४ वटा हेलिकोप्टर र जहाज चालू अवस्थामा छन्। हवाई गस्तीका लागि राजधानीबाहिरका पृतनामा ७ वटा हेलिकोप्टर पठाएको सेनाले काठमाडौंमा रहेका बाँकी ७ जहाज र हेलिकोप्टरहरुलाई पनि हवाई गस्तीका लागि प्रयोग गर्नेछ।

निर्वाचन बिथोल्न क्रियाकलाप नहोस् भन्ने उद्देश्यले सेनाले दिनभरि हवाई गस्तीको योजना बनाएको हो। त्यसबाहेक कुनै घटना भयो भने आवस्यकता बमोजिम तत्काल फौज उतार्नका लागि पनि ती हेलिकोप्टर प्रयोग हुनेछन्।

पहिलो चरणमा निर्वाचन सम्पन्न भएपछि मतपेटिका ओसार्नका लागि पनि ती हेलिकोप्टरहरु प्रयोग हुनेछन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्