लकडाउनका बेला सर्बसाधरण कुट्ने प्रहरीलाई कारवाही गर्छौं -आईजीपी ज्ञवाली



कोरोनाभाइरस संक्रमणले विश्वमा महामारीको रुप लिइसकेको छ । नेपालमा पनि कोरोना संक्रमण फैलिन नदिन दोस्रो सातामा पनि लकडाउनको घोषणा सरकारले गरिसकेको छ । 

सहज होस् वा असहज अवस्था सुरक्षा निकाय त्यसमा पनि नेपाल प्रहरी अग्रमोर्चामा छ ।

लकडाउनपछि देखिएका सुरक्षा जोखिम के–के हुन् ?

देशभर शान्ति सुरक्षाको अवस्था के–कस्तो छ ? यिनै विषयमा बाह्रखरीका केशवराज जोशीले प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीसँग गरेको संक्षिप्त कुराकानी–

लकडाउनपछि प्रहरी कसरी आफ्ना गतिविधि अगाडि बढाइरहेको छ ?

हामीले मुलतः सरकारले दिएको निर्देशन र आदेश पालना गर्ने हो । लकडाउन, सवारीसाधन आवागमन बन्द गर्ने त्यही काममा सक्रिय छौँ ।

जनतालाई एकैचोटी भन्नुभन्दा पनि अलिकति प्रचारात्मक किसिमले जानुपर्छ भनेर बेलाबेला माइकिङलगायतका काम पनि गरिरहेका छौँ । प्रत्येक जिल्ला, सहर र गाउँगाँउमा जनचेतना फैलाउने काम गरिरहेका छौँ ।

सामाजिक दुरी कायम गरौं, घरबाहिर ननिस्कन आग्रह गरिरहेका छौँ । यो अरुका लागि होइन, तपाईँ हाम्रै लागि हो भनेर भनिरहेका छौं । साबुनपानीले हात धुने, मास्क प्रयोग गर्ने, स्यानिटाइजरको प्रयोग गरौं भन्नेकुरा सिकाइरहेका छौँ । यति हुँदाहुँदै पनि जनता सडकमा आउने अवस्था देखिएको छ ।

त्यस्तो अवस्था सम्झाउने र मानेन भने केही समय नियन्त्रणमा राख्ने काम पनि गरेका छौँ ।

यस्तो अवस्थामा देखिने सम्भावित सुरक्षा चुनौती के हुन् ?

हामी फ्रन्टलाइन बसेर काम गर्नुपर्ने भएकाले हामीलाई ‘थ्रेट लेवल’ एकदम बढी छ । त्यसैले हामीले व्यक्तिगत सुरक्षाका उपाय अपनाएर काम गरिरहेका छौँ । थ्रेट छ भनेर हामी फिल्ड (मैदान) बाट भाग्न त मिल्दैन । हामी भाग्ने होइन । हामीले त यस्तै देशलाई संकट परेको बेला, विषम परिस्थितिमा आफूलाई अग्रमोर्चामा उभ्याउने हो ।

यसका साथसाथै शान्तिसुरक्षाका अवस्थामा यस्तो बेला धमिलो पानीमा माछा मार्नेहरु सक्रिय हुन सक्ने अवस्था रहन्छ ।

त्यस्ता अवाञ्छित क्रियाकलापप्रति पनि चनाखो छौँ । त्यो स्वास्थ्यकर्मी, अस्पताल, भीडभाड व्यवस्थापन, बिरामीलाई जानकारीमुलक सूचना दिने र अस्पतालसम्म पुग्ने व्यवस्थामा सहजता उत्पन्न गराउने काम पनि भइरहेको छ ।

प्रहरीलाई पर्याप्त मात्रामा स्रोतसाधन नहुँदा तपाईँहरु नै जोखिममा परेको त होइन ?

हामीले ब्यारेकमा त बस्नैपर्छ । अन्त बस्ने कुरा भएन । सुरक्षा व्यवस्था मास्क लगाउने, पञ्जा लगाउने, स्यानिटाइजर प्रयोग गर्ने ब्यारेकलाई पनि बेलाबखत जाँच गराउने काम गरेका छौँ ।

कोही प्रहरी कर्मचारीलाई संक्रमणको शंका लागेमा सुरक्षित स्थानमा राख्ने, ड्युटीमा नपठाउने कुराहरु छन् ।

प्रहरीले कतिपय स्थानमा स्थानीलाई कुटेको भिडियो पनि आइरहेको छ, यो केन्द्रीय नीति हो र ?

हैन । संगठनले कुनै पनि मान्छेलाई कुट भनेर भन्दैन । त्यो स्थानीयस्तरमा वस्तुस्थिति र अवस्था हेरे पनि कतिपय अवस्थामा त्यस्तो हुन जान्छ । तर त्यस्तो गर्न हुँदैन । त्यस्तो गर्ने मान्छेलाई कारबाहीको दायरामा ल्याइन्छ ।

देशभर कति जनशक्ति परिचालित छ, यो बीचमा अन्य अपराधको अवस्था के छ ?

अन्य अपराध एकदमै कम छन् । सामाजिक अपराध आत्महत्यालगायतका मात्रै छन् । चोरी डकैतीलगायतका घटना एकदमै कम छन् । अहिले ३५ हजार प्रहरी देशभर परिचालन गरिएको छ । ५–६ हजार स्टान्डबाई छ ।

नागरिकसँग प्रहरीले गरेको अपेक्षा के हो ?

यो विषयमा नागरिक आफैँ जिम्मेवार बन्न जरुरी छ ।

सबैले आफूले जानेबुझेका कुरा आफन्त, गाउँ, समाजलाई सुसूचित गर्ने कुरा हो । सिकाउने पनि हो । आफूमात्रै सुरक्षित होइन देश नै सुरक्षित राख्ने कुरा हो । यसमा सबैले हातेमालो गर्न जरुरी छ ।

साभार – ब्राहखरी डटकमबाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्