लक डाउन भन्दै युवक कुट्ने सशस्त्र प्रहरी हवल्दार निलम्बित



काठमाण्डौँ, चैत्र १८
सप्तरीको बलान बिहुल गाउँपालका-३ मौवाहाका २६ वर्षीय हरेकृष्ण साह र २४ वर्षीय चन्द्र यादवलाई कुटपिट गर्ने सशस्त्र प्रहरी हवल्दार मनोज चौधरी कारबाहीमा परेका छन्।

नेपाल-भारत सीमा नाका बन्द र लकडाउनको समयमा भारतबाट दैनिक उपभोग्य सामान किनेर आइरहेका साह र यादवलाई निर्ममतापूर्वक कुटपिट गर्ने सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट रामनगर कोदरकट्टी सप्तरीमा कार्यरत सशस्त्र प्रहरी हबल्दार चौधरी निलम्बनमा परेका हुन् ।

भारत बिहारको लौकहा बजारबाट दैनिक उपभोग्य सामाग्री किनेर घर फर्किरहेका उनीहरुलाई आइतबार सप्तरीको बलान बिहुल गाउँपालिकास्थित दशगजा क्षेत्रमा नियन्त्रणमा लिई चौधरीले निर्ममतापूर्वक कुटपिट गरेका थिए ।

सशस्त्र प्रहरी हवल्दार चौधरीले निर्ममतापूर्वक कुटेको भिडियो सोमबार सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। भिडिओमा कुटेर लाठी भाँचेको, लाठी भाँचिएपछि अर्को लाठी लिएर पुनः कुटपिट गरेको, घोप्टो पारेर कुटेको, कुहिना र घुँडा टेक्न लगाएर हिंडाएको देखिन्छ। कुटपिट गर्दा वरिपरि बालबालिका समेत छन्। कोरोना भाइरस (कोभिड-१९) संक्रमणको महामारी रोकथाका लागि खटिरहेको सशस्त्र प्रहरी बल देश र देशबासीको सुरक्षाका लागि खटिरहेको भन्दै सशस्त्र प्रहरी बल ६ नम्बर गणका सशस्त्र एसपी उद्धव न्यौपानेले आरोपित चौधरीलाई तत्काल निलम्बन गरिएको जानकारी दिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्