नेपालले चीनलाई ५० रनले पराजित



सैघाली खबर
काठमाडौं,१० मंसिर

आइसिसी महिला टि–ट्वेन्टी विश्वकप छनोट एसियाको आफ्नो अन्तिम खेलमा नेपालले चीनलाई ५० रनले पराजित गरेको छ। थाइल्याण्डमा भएको उक्त प्रतियोगितामा नेपालले जित हासिल गरे पनि ग्लोबल छनोटमा भने पर्न सकेन।

युएइले मलेसियालाई पराजित गरेपछि नेपाल शीर्ष दुई स्थानमा पर्न नसक्दा छनोट हुन नसकेको हो। नेपालले शीर्ष दुईमा पुग्नका लागि चीनलाई हराउनुपर्ने बाध्यता थियो भने मलेसियाले युएइ र थाइल्याण्डले हङकङलाई पराजित गर्नुपर्ने थियो। तर युएइ विजयी भएपछि नेपाल शीर्ष दुईमा पर्न सकेन।

टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १०२ रनको योगफल तयार गर्‍यो। नेपालका लागि कप्तान रुविना क्षेत्रीले अविजित १८ रनको योगदान दिइन् भने काजोल श्रेष्ठले १६ तथा नेरी थापाले ११ रन जोडिन्।

बलिङतर्फ चीनकी झाङ जिएङजुले तीन विकेट लिइन्। जवाफी ब्याटिङमा उत्रेको चीनले १८।२ ओभरमा सबै विकेट गुमाउँदै ५२ रन बनायो। चीनका लागि हान लिलिले १५ तथा सायुन जाउले १० रन बनाए। बलिङतर्फ नेपालकी कप्तान रुविना क्षेत्री र सवनम राईले समान तीन(तीन विकेट तथा सीता राना मगरले दुई विकेट लिइन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्