पहिलो चरणमा ६५ प्रतिशत मतदान



सैघाली खबर
काठमाण्डौ, १० मंसिर । आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेश सभाको पहिलो चरणको निर्वाचनमा ६५ प्रतिशत मत खसेको प्रारम्भिक जानकारी प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ ।
चुनाव सम्पन्न भएपछि साँझ ६ बजे आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले ३२ वटा जिल्लामा निर्वाचन शान्तिपूर्ण र उत्साहपूर्ण रुपमा सम्पन्न भएको जानकारी दिए ।

मतपेटिका जिल्ला सदरमुकाममा ल्याउने काम भइरहेको र अर्को चरणको निर्वाचन नभएसम्म सुरक्षित रूपमा राखिने आयोगले जनाएको छ । मतपत्रले भरिएका अधिकांश स्थानका मतपेटिका आज ९आइतबार०नै जिल्ला सदरमुकाम ल्याइने आयोगले बताएको छ । उच्च हिमाली र विकट क्षेत्रका मतपेटिका भने सोमबार हेलिकोप्टरबाट सदरमुकाम ल्याइनेछ ।

उच्च पहाडी र हिमाली ३२ जिल्लामा आज पहिलो चरणको निर्वाचन भएको हो । १११ सिटका लागि ७०२ उम्मेदवार चुनावी मैदानमा छन्। प्रतिनिधिसभाको ३७ सिटका लागि २८२ र प्रदेशसभाको ७४ स्थानका लागि ४२० उम्मेदवार चुनावी मैदानमा छन् । बाँकी ४५ जिल्लामा भने मंसिर २१ गते निर्वाचन हुँदैछ ।

रुकुमको दुईवटा मतदान कन्द्रमा भने पुनः मतदान गरिने भएको छ । राससका अनुसार आज भएको मतदानको क्रममा एसिड परेर मतपत्र जलेपछि पुनः मतदान गरिने निर्वाचन आयोगले जानकारी दिएको छ ।

रुकुम पश्चिमको बाँचीकोट गाउँपालिका–५ स्थित रत्ना निमावि मतदान केन्द्र र आठबीसकोट नगरपालिका–१२ गत्तासैना मतदान केन्द्रमा पुनःमतदान गरिने रुकुम पश्चिमका मुख्य निर्वाचन अधिकृत काजीबहादुर राईले जानकारी दिए ।

यी दुई मतदान केन्द्रमा आगामी मंसिर २१ गते मतदान गरिने उनले बताए । रत्ना निमाविको मतदान केन्द्रमा प्रतिनिधिसभाको र गत्तासैना मतदान केन्द्रमा समानुपातिकतर्फको मात्र मतदान हुने उनले बताए ।

दुवै मतदान केन्द्रको मतपेटिकामा एसिड राख्ने मान्छेको पहिचान हुन नसकेको र उनीहरुको खोजीकार्य जारी रहेको रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिए । रत्ना निमाविमा २५० र गत्तासैनामा ३६५ मत खसेपछि एसिड परेर मतपत्र जलेकाले मतदान स्थगित भएको थियो ।

प्रमुख निर्वाचन आयुक्त यादवले पत्रकार सम्मेलनमा दिएको वक्तव्य

आदरणीय मतदाता बुवा, आमा, दिदी बहिनी तथा दाजुभाइहरू,

१. प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरणको निर्वाचन आज मंसिर १० गते मुलुकका ३२ जिल्लामा शान्तिपूर्ण, उत्साहजनक र मतदाताको व्यापक सहभागितामा सम्पन्न भएको छ । प्रतिनिधिसभातर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभाका लागि ७४ निर्वाचन क्षेत्रमा आज भएको मतदान कार्य ऐतिहासिक रूपमा सफल भएको जानकारी दिन पाउँदा आयोग हर्षित छ । पहिलो चरणको निर्वाचनका लागि कायम भएका ४ हजार ४६५ मतदान केन्द्रमध्ये छिटफूटबाहेक सबै मतदान केन्द्रमा मतदान कार्य शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ ।

२.केही मतदान केन्द्रमा मतदान प्रतिनिधि समयमा उपस्थित नभएका कारणले केही ढिलो मतदान आरम्भ भएपनि सबै मतदान केन्द्रहरूमा तोकिएकै समयमा निर्वाचन शुरू भएको थियो । अधिकाँश मतदान केन्द्रमा विहान ७ बजे अगाडिदेखि नै मतदाताहरू मतदानका लागि उत्साहपूर्वक पङ्क्तिबद्ध हुनुभएको थियो । मतदाता उत्साजनकरुपमा मतदानमा सहभागी भएबाट संविधान कार्यान्वयनलाई पूर्णता दिन, संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र मतदाताको व्यापक सहभागिताबाट मुलुकमा राजनीतिक स्थायित्व दिने कार्यप्रति नेपाली जनता प्रतिवद्ध रहेको प्रष्ट भएको छ । जनताको यस किसिमको सहभागिता र प्रतिवद्धताको निर्वाचन आयोग उच्च सम्मान गर्दछ ।

३. निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रमा प्राप्त प्रारम्भिक विवरणअनुसार, ६५ प्रतिशतभन्दा बढी मतदान भएको जानकारी प्राप्त भएको छ । आज भएको मतदानमा सबैभन्दा बढी बाजुरा जिल्लामा ८० प्रतिशत मतदान भएको छ । मतदानमा खसेको मत प्रतिशतको आँकडा अझ बढ्नसक्ने आयोगले अनुमान गरेको छ ।

४. आज भएको मतदानमा मु्ख्य निर्वाचन अधिकृतले दिनुभएको जानकारी अनुसार, रुकुम पश्चिमको बाफिकोट गाउँपालिका वडा नं। ५ को रत्न मा।वि। ‘क’ मतदान केन्द्र र सोही जिल्लाको आठबीसकोट नगरपालिका वडा नं। ११ स्थित राष्ट्रिय मा।वि। गत्तसैना ‘ख’ मतदान केन्द्रमा मतपेटिकामा आगलागी भएको कारणबाट मतदान कार्य स्थगित भएको छ । स्थगित भएका मतदान केन्द्रमा मुख्य निर्वाचन अधिकृतले छिट्टै नै पुनः मतदान गर्ने व्यवस्था मिलाउने जानकारी दिन चाहन्छु । यसरी ४ हजार ४६५ मतदान केन्द्रमध्ये दुईवटा मतदान केन्द्रमा मात्र पुनः मतदान हुने भएको छ ।

५. आज मतदान सम्पन्न भए लगत्तै सबैै मतपेटिका सुरक्षित तवरबाट जिल्ला सदुरमुकामस्थित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा सङ्कलन गर्ने काम समेत शुरू भइसकेको छ । यसरी संकलन भएका मतपेटिकाहरू मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको प्रत्यक्ष रेखदेख, नियन्त्रण र व्यवस्थापनमा रहन्छन् । मतपेटिकाहरू मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सुरक्षा निकाय र राजनीतिक दल तथा उम्मेदवारहरूको सहमतिमा विश्वसनीय ढंगबाट सुरक्षित स्थानमा राख्ने प्रवन्ध मिलाइएको छ । यही मङसिर २१ गते दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदान सकिए लगत्तै मतगणना शुरू गर्ने व्यवस्था मिलाइएको छ ।

६ .निर्वाचनका लागि नेपाल सरकारले गरेको सुरक्षा प्रवन्ध प्रभावकारी रहेका कारण निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको छ । यसका साथै निर्वाचनका लागि अनवरतरूपमा खटिई कार्य सम्पन्न गर्ने निर्वाचन आयोगका सम्पूर्ण कर्मचारीहरू र निर्वाचनमा खटिएका सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूको आयोग प्रशंसा गर्दै धन्यवाद दिन चाहन्छ । निर्वाचनलाई सफल पार्न अहम् भूमिका खेल्नुहुने सम्पूर्ण राजनीतिक दल, उम्मेदवार र दलका कार्यकर्ताले देखाउनु भएको सहयोग, सद्भाव र मैत्रीपूर्ण व्यवहार, समझदारी र सकारात्मक सहभागिताप्रति आयोग आभार प्रकट गर्दछ । मतदान कार्यलाई सफल बनाउने कार्यमा सहयोग पुर्याउने नेपाल सरकार, मित्र राष्ट्र, दातृ निकाय, विकास साझेदार संस्था तथा अन्तर्राष्ट्रिय समुदाय एवं राष्ट्रिय अन्तर्राष्ट्रिय पर्यवेक्षक तथा नागरिक समाज, आम मतदाता, सम्पूर्ण सञ्चारकर्मीको सहयोग एवं सद्भावप्रति आयोग पुनः धन्यवाद दिन चाहन्छ ।

७. पहिलो चरणको मतदानका कार्य सम्पन्न भएपछि अब हामी सबैको ध्यान यही मङ्सिर २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको दोस्रो चरणको निर्वाचनमा केन्द्रित भएको छ । स्थानीय तहको निर्वाचन तथा पहिलो चरणको निर्वाचनमा जस्तै दोस्रो चरणको निर्वाचनलाई सफल पार्नका लागि पनि नेपाल सरकार, राजनीतिक दल, उम्मेदवार, मतदाता, सुरक्षा निकाय, मित्र राष्ट्रलगायत सम्बद्ध सबैसँग सकारात्मक सहयोगका लागि आयोग आग्रह गर्दछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्