मुख्य समाचार

नुवाकोटमा स्थानीयतहको भन्दा आठ प्रतिशत कम मत खस्यो

By थाहा अनलाइन

November 28, 2017

सैघाली खबर नुवाकोट ,१२ मंसिर

प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तरगत आइतबार भएको मतदानमा नुवाकोटमा ६७ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार दुई लाख आठ हजार एकसय ९१ मतदाता मध्ये आइतबार सम्पन्न मतदानमा एक लाख ३९ हजार ७ सय ६१ मतदाताले मत दिएका छन् ।

निर्वाचनमा कुल खसेको मत ६७.१४ प्रतिशत रहेको जिल्ला निर्वाचन अधिकारी जनार्दन अधिकारीले जानकारी दिनुभयो । यसअघि वैशाखमा सम्पन्न स्थानीयतहको निर्वाचनमा ७४.९० प्रतिशत मत खसेकोमा अहिलेको निर्वाचनमा त्यो भन्दा करिब आठ प्रतिशत कम मत खसेको हो ।

आइतबार भएको मतदानमा प्रतिनिधिसभा सदस्य क्षेत्र नं. १ मा एक लाख पाँच हजार २ सय ८७ जना मतदाता रहेकोमा ६९ हजार ८ सय ६४ मतदाताले मतदान गरेका छन् ।

यो ६६.३६ प्रतिशत रहेको निर्वाचन कार्यालयका प्रमुख अधिकारीले जानकारी दिनुभयो । प्रतिनिधिसभा सदस्य क्षेत्र नं. २ मा एक लाख दुई हजार ९०४ मतदाता रहेकोमा ६९ हजार ८ सय ९७ मतदाताले मतदान गरेका निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभा सदस्य क्षेत्र नं. २ मा खसेको मत ६७.९२ प्रतिशत रहेको छ । मतदान गर्नेमा पुरुषको सङ्ख्या ७३ हजार एकसय ९७, महिलाको सङ्ख्या ६६ हजार ५ सय ६३ र एक जना तेश्रो लिङ्गी समेत रहेका छन् ।

यसअघि निर्वाचन कार्यालयले आइतबार सम्पन्न मतदानको प्रारम्भिक तथ्याङ्कमा ६६.९८ प्रतिशत रहेको तथ्याङ्क सार्वजनिक गरेपनि त्यसमा सच्याएर सोमबार ६७.१४ प्रतिशत मतदाताले मतदान गरेको नयाँ तथ्याङ्क सार्वजनिक गरेको हो ।