ओमसतिया गाउँपालिकामा राहत वितरण सुरु



भैरहवा-२९ चैत्र । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को जोखिम न्यूनीकरण गर्न सरकारले जारी गरेको लकडाउनको समयावधि लम्बिएसंगै दैनिक ज्याला मजदुरी गरी जिविकोपार्जन गर्ने विपन्न परिवारलाई एक छाक टार्न पनि गार्हो भएको छ । लकडाउनका कारण काम गर्ने सबै कार्यस्थलहरु ठप्प रहेकोले अहिले विपन्न परिवारलाई बिहानसाँझ हातमुख जोर्न निकै समस्या भएको छ । यतिबेला गरिखाने परिवारका साथै हुनेखानेलाई पनि जीवन गुजारा गर्न धौधौ पर्न थालेको छ । असामान्य अवस्थामा सिर्जना भएका यो समस्यालाई मध्यनजर गर्दै रुपन्देहीको ओमसतिया गाउँपालिकाले गरीब तथा विपन्नलाई राहत वितरण सुरु गरेको छ । लकडाउनका कारण खाद्यसंकटको मारमा परेका गरिब तथा अति विपन्न परिवारलाई राहत वितरण गरिएको हो । गाउँपालिकाले शनिबार वडा नम्बर १ र २ बाट सुरु गरेको राहत वितरणको पहिलो चरणमा वडा नम्बर १ का ३ सय ४४ र वडा नम्बर २ का ४ सय २ परिवारलाई राहत वितरण गरिएको हो । गाउँपालिकाले राहत वितरण सम्बन्धि निर्देशिका नै बनाएर सोही अनुसार राहत वितरण गरेको छ । एउटा परिवारलाई गाउँपालिकाले १५ किलो स्टिम चामल,१ किलो रहर दाल, १ लिटर तेल, २ पोका नुन, १ किलो सोयाबिन, ४ किलो आटा वितरण गरिरहेको छ । सरकारले जारी गरेको लकडाउन (बन्दाबन्दी) का कारण दैनिक ज्यालादारी गरि खाने परिवार तथा घरभाडामा बस्दै आएका परिवारसहित १ हजार ९ सय २ परिवारलाई पुग्ने गरि प्याकेट बनाई सोही अनुसार राहत वितरण गरिएको गाउँपालिका अध्यक्ष हिरा केवटले बताए । उनले गाउँपालिका भित्र रहेका सम्पूर्ण गरीब तथा असहायलाई पुग्ने गरी प्रत्येक टोल टोलमा गएर राहत वितरण गरिएको जानकारी दिए । अध्यक्ष केवटका अनुसार ”नेपाल सरकार गृह मन्त्रालयको परिपत्र एवं मापदण्ड अनुसार वडा कार्यालयहरुले संकलन गरेको लगतका आधारमा राहत वितरण गरिएको छ ।” गाउँपालिका अध्यक्ष तथा वडाका जनप्रतिनिधिहरुको प्रत्यक्ष रोहबरमा राहत वितरण गरिएको हो । राहत पाएपछि खाद्यसंकटमा परेका परिवारहरुको अनुहारमा थोरै मुस्कान आएको छ । खाद्य सामाग्री सकिन लागेको अवस्थामा गाउँपालिकाले दिएको यो राहतले भोकबाट बाँच्ने केही आस पलाएको उनीहरुले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्