कोरोना प्रभाव : चार हजार ४६ विदेशी स्वदेश फिर्ता



काठमाण्डौँ, चैत्र ३०
देशभर लकडाउन जारी रहेकै अवस्थामा विभिन्न परिस्थितिले रोकिएका चार हजार ४६ विदेशी नागरिक स्वदेश फर्किएका छन् । लकडाउनका कारण नेपालमा रोकिएका आफ्ना नागरिकलाई सम्बन्धित मुलुकले जहाज चार्टर्ड गरी स्वदेश फिर्ता लगेका हुन् । अध्यागमन विभागका अनुसार चैत १४ देखि २९ गतेसम्म विभिन्न ११ देशले जहाज चार्टर्ड गरी आफ्ना नागरिक फिर्ता लगेका हुन् ।

अध्यागमन विभाग, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृत सागर आचार्यले लकडाउनको अवधिमा विभिन्न मुलुकले आफ्ना चार हजार बढी नागरिक उद्धार गरी घर फिर्ता लगेको जानकारी दिनुभयो ।

उहाँका अनुसार सबैभन्दा बढी जर्मन सरकारले एक हजार २०३ जना नागरिक फिर्ता लगेको छ । त्यसैगरी फ्रान्सले दुई उडानमार्फत ६०८ नागरिकलाई नेपालबाट फिर्ता लगेको छ । अमेरिकाले पनि दुईवटा उडानमार्फत नेपालमा रोकिएका आफ्ना ६०५ नागरिकको उद्धार गरेको छ ।

बेलायतले दुई उडानमार्फत ५०० नागरिक लगेको छ । अष्ट्रेलियाले नेपाल एयरलाइन्सको जहाज चार्टर्ड गरी २५७ नागरिक स्वदेश लगेको छ । नेपाल एयरलाइन्सको चैत १९ गतेको चार्टर उडानमार्फत उनीहरु स्वदेश फर्किएका हुन् ।

जापानले पनि नेपाल एयरलाइन्सकै वाइड बडी जहाज चार्टर्ड गरी १९३ नागरिक स्वदेश लगेको छ । क्यानाडाले कतार एयरवेजको जहाजमार्फत २०७ नागरिक लगेको छ । त्यस्तै मलेसियाले ६६ र चेक रिपब्लिकनले १०२ नागरिक घर फर्काएका छन् भने नेदरल्याण्डले १२४ नागरिक स्वदेश फर्काएको छ ।

नेपाल पर्यटन बोर्डले सरोकार निकायसँगको समन्वयमा उनीहरुलाई नेपालका विभिन्न गन्तव्यबाट उद्धार गरी काठमाडौँ ल्याउन सहजीकरण गरेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्