महराद्वारा बम आक्रमणको भत्र्सना



सैघाली खबर
दाङ, मंसिर १३ । उपप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले तुलसीपुर र उदयपुरमा भएका छुट्टाछुट्टै बम आक्रमणको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ । बुधबार एक विज्ञप्ती जारी गरी नेता महराले म्यादी प्रहरीको ज्यान जाने गरी भएको तुलसीपुर बम आक्रमण र उम्मेदवार नै घाइते हुने गरी भएको उदयपुर बम आक्रमणको कडा शब्दमा भत्र्सना गर्नुभएको हो ।  मंगलबार तुलसीपुरमा भएको बम आक्रमणमा परी गम्भीर घाइते तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ का म्यादी प्रहरी विनोद चौधरीको उपचारका क्रममा निधन भएको छ भने बुधबार बिहान उदयपुरमा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार नारायणबहादुर कार्की नै बम आक्रमणमा घाइते भएका छन् ।

महराले यी दुवै घटनालाई गैरराजनीतिक र अराजक गतिविधिको संज्ञा दिदै सम्बन्धित पक्षलाई तत्काल राजनीतिक संस्कारसहित लोकतान्त्रिक अभ्यासमा आउन आग्रह गर्नुभएको छ । विज्ञप्तीमा भनिएको छ– ‘देशमा स्थिर राजनीति स्थापना गर्न र मुलुकलाई संमृद्धिको बाटोमा लैजाने गरेर हुन लागेको निर्वाचनलाई असर पर्ने खालका गैरराजनीतिक गतिविधिहरु तत्काल बन्द गरी राजनीतिक संस्कारसहित लोकतान्त्रिक अभ्यासमा आउन म सम्बन्धित पक्षलाई अपील गर्न चाहन्छु ।’\ साथै उहाँले अराजनीतिक गतिविधिबाट कत्ति पनि विचलित नहुन मतदाताहरुलाई आग्रह गर्दै शान्ति सुरक्षालाई चुस्त दुरुस्त बनाउन प्रहरी प्रशासनलाई निर्देशन दिनुभएको छ ।

निर्वाचनको सुरक्षाका लागि खटिएका म्यादी प्रहरी विनोद चौधरीको निधनले आफूलाई अत्यन्तै दुखित बनाएको भन्दै विज्ञप्तीमा भनिएको छ– ‘बम विष्फोटबाट घाइते भई उपचारका क्रममा निधन भएका विनोद चौधरीप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै शोकाकुल परिवारजनलाई गहिरो समवेदना व्यक्त गर्दछु । साथै तुलसीपुरको घटनामा परी घाइते हुने सर्वसाधारण तथा उदयपुरको घटनामा परी घाइते प्रतिनिधिसभा सदस्यका उम्मेदवार कार्कीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारका विशेष ध्यान दिन अस्पताल तथा सम्बन्धित पक्षसँग अनुरोध गर्दछु ।’

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्