दाङलाई प्रादेशीक राजधानी बनाउँन मेरो उम्मेदवार हो खनाल




प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मिति निजिकिदैछ । दलहरु चुनावी घरदैलोमा छन् । प्रतिनिधिसभा सदस्य क्षेत्र नं. २ मा कांग्रेसतर्फका उम्मेदवार राजु खनाल पनि चुनावी मैदानमा छन् ।प्रस्तुत छ खनालसँग गरिएको कुराकानीको सारसंक्षेपः

१) निर्वाचन तयारी के छ ?

विशेषगरी गाँउघरमा जनताहरुसँग मत माग्न र आफना कुराहरु राख्नका लागि निर्वाचन क्षेत्र अन्तर्गतका विभिन्न स्थानहरुमा पुगिरहेको छु । गाँउगाँउमा पुगेर मतदाताहरुलाई भेटेर उहाँहरुको समस्या बुझ्दै मत माग्न मै आजभोली व्यस्त छु । खासगरी २०७० को चुनावमा मैले जसरी जनतासंग प्रतिवद्धता गरेको थिए त्यो पुरा गरेको अवस्था छ । संविधानसभाबाट संविधान निर्माण गर्ने प्रतिवद्धताका साथ २०७० सालमा मत मागेको थिए । मतदाताहरुले त्यो बेलामा मलाई मत दिएर विजयी बनाउनुभयो । संविधान ल्याउने जिम्मेवारी सुम्पनुभयो । मैले त्यो पुरा गरे पनि । मलाई विश्वास मानेर र जनताले जिताएर पठाएपछि मैले संविधान बनाउने अभिभारा पुरा गरि फर्किएको छु । अव त्यसको कार्यान्वयनको बेला आएको छ । जसअनुरुप स्थानीय तहको निर्वाचन भइसक्यो भने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको हामी संघारमा आइपुगेको छ ।
संविधानले एक किसिमले राजनीतिक स्थायित्व कायम गर्नेछ । जनताको अधिकारको लडाइ सकियो अब देश विकासको लडाई गर्नेबेला आएको छ भन्ने कुरालाई हामीले नाराका रुपमा जनताको माझ लगेका छौ ।

२) जनता माग के छ ?

विशेषगरी जनताको चाहना सडक राम्रो भइदियोस, पुल चाहियो, विद्युत चाहियो, गाउघरमा सिंचाईको व्यवस्था गरिदिए हुन्थ्यो भन्ने छ । त्यस्तै खानेपानीको सुविधाको कुरा, कैयौं ठाउमा खहरे खोलाहरु छन् त्यसले गरेको कटान रोक्ने कुरा पनि जनताले सुनाउनुभएको छ । कतिपय ठाउमा रोजगारीको कुरालाई जनताले सुनाएका छन । छिटो भन्दा छिटो पुरा गरिदिए हुन्थ्यो भन्ने नै वढि जनताको जोड छ । उहाँहरुले अब विकास आफ्नो गाँउमा हुनुपर्छ भन्ने धारणा छ ।

३) आप्mना राम्रा कुरा भन्दा अर्कालाई नराम्रो देखाएर भोट माग्दैछ काँग्रेस हो ?

कुन विषयलाई लिएर यस्तो भनियो त्यो त मलाई थाहा भएन । तर अहिलेको कम्युनिष्ट गठवन्धनका विषयमा हो भने त्यो कुराको पुष्टि आफै गर्दै हिड्नु भएको छ । हिजो हाम्रो कुरा के थियो भने चाहे त्यो बाह्रवुदे सहमतिको कुरा भनौ चाहे एमाले एउटा लोकतान्त्रिक धारमा आएको कुरा गर्नुस् हामीले के सोचेका थियौं भने काँग्रेसको लक्ष र बाह्रवुदेमध्य एउटा बुदा हेर्नुभयो भने बहुदलिय प्रतिष्पर्धाकै माध्यमबाट देश विकासमा जाने कुरा छ । त्यही लक्ष अन्तर्गत शान्ति संझौता पनि भयो र शान्तिपूर्ण आन्दोलनबाट हामी अगाडि बढ्यौं । तर उहाँहरुले बाम एक ठाउमा हुदा काँग्रेस तर्सियो, बढारियो भन्ने हिसावले जुन अभिव्यक्ति दिइरनुभएको छ यसबाट काँग्रेस तर्सिने कुरै छैन । किनकी काँग्रेसले त बाम एक हौ भन्ने पार्टी हो । तपाईलाई म स्मरण गराउ ०४६ सालको आन्दोलन गर्ने वेलामा कम्युनिष्टहरु धेरै थिए र काँग्रेसले के भन्यो भने यति धेरै कम्युनिष्टहरुसंग हामी वार्ता गर्न सक्दैनौ तपाईहरु एक हुनुस भन्यो र बाममोर्चा बनाएर ल्याउने अवस्था सिर्जना गर्ने नै काँग्रेस हो । हामी त एक होस भन्ने चाहन्छौ । अहिले पनि थ्रेस होल्डकालागि लडेकै हौ । हामीलाई त कमभन्दा कम पार्टी भएको राम्रो हुन्छ । तर त्यो पार्टीको लक्ष के हो त ? आशंका त्यहाँनेर हो । हामीले त एमाले काँग्रेस जस्तै हो भन्ने मानेका थियौ र माओवादी पनि विस्तारै काँग्रेसकै बाटोमा आइसकेको थियो । काँग्रेसले लिएको उदार नीतिलाई एमाले र माओवादीले सरकार चलाउने बेला मानेकै थिए । त्यसो हुदा सबै दलहरु लोकतान्त्रिक दल भए नाम जेसुकै भएपनि काम लोकतान्त्रिक नै हो भन्ने लागेको थियो । तर उहाँहरुले भोली कम्युनिष्ट शासनको कुरा गर्दै हुनुहुन्छ त्यसले आशंका जन्मायो त्यो त उहाँहरुकै अभिव्यक्तिका कारणले हामीले आशंका गर्नु परेको हो । उहाँहरुले प्रष्ट पार्न जरुरी छ । प्रेसकै कुरा गर्दा विगतमा कि प्रशासनबाट कि माओवादीबाट पीडित हुनु परेको हो नी, काँग्रेसको आलोचना गर्दा पनि किन काँग्रेसले सहेर बस्यो भन्दा काँग्रेस लोकतान्त्रिक शक्ति हो ।

४) एमाले माओवादी गठबन्धनले देशमा अधिनायकवाद आउँछ ?

त्यो त उहाँहरुकै अभिव्यक्तिमा आएका कुरा हुन् । कम्युनिष्टहरुको अन्तिम लक्ष भनेको कम्युनिष्ट शासन हो भनेपछि हामीलाई शंका लागेको हो । किनभने उहाँहरुले नै अब अरु सबै दलहरु सिद्धिएर जान्छन भन्नु भएको छ । त्यो पनि अधिनायकवादी सोंच हो । जवसम्म सशक्त प्रतिपक्ष हुदैन लोकतन्त्र बलियो हुन सक्दैन । त्यसको गुण हो । त्यसले गर्दाखेरी हामीले कसैलाई होच्याउने कुरै छैन । हामीले त दलहरु एक भएर आउनुपर्छ भनेका छौ । तर लोकतान्त्रिक बाटोमा हिड्नुपर्छ भन्ने एकमात्र सोच हो लक्ष पनि हो ।

५) दाङको विकासका लागि तपाईका एजेण्डा के छन् ?

नेपाली काँग्रेसको मुख्य एजेण्डा र मेरो पनि मुख्य एजेण्डा भनेको दाङलाई प्रादेशिक राजधानी बनाउनेमा हामी निरन्तर रुपमा लागेका छौ र हामी यो अभियानबारे काँग्रेसको केन्द्रीय नेतृत्वलाई पनि मनाएका छौ । उहाँहरु पनि सहमत हुनुहुन्छ । त्यसकै आधारका रुपमा केही इकाईहरु दाङमा सुरुवात पनि भएका छन । त्यस्तै राजधानीका लागि आवश्यक पूर्वाधार के हुन त ? त्यतातिर पनि सोच्नुपर्ने भएको छ । त्यसैकारणले मैले हिजोका दिनमा केही काम पनि गरेको छु । पहिलो कुरा राप्ती उपक्षेत्रीय अस्पताल लेखिएपनि त्यो ५० बेडको मात्रै थियो, साथिहरुले गुनासो सुनाउनुभयो मैले निर्वाचित भएको पहिलो काम उपक्षेत्रीय अस्पतालाई १ सय बेडको बनाए र दरवन्दी पनि थपियो । त्यसैलाई टेकेर सुशील कोइराला प्रधानमन्त्री भएको बेलामा यसलाई मेडिकल कलेजको रुपमा विकास गरेका थियौं यसले पनि दाङलाई राजधानी बन्ने आधार स्थापित गरेको छ ।

६) कटुवा खोला अलपत्र गराउनुमा तपाईको हात छ रे नी ?

मलाई त्यही नेर दुख लागेको छ । अझ त्यो आरोप सामान्य जनताले लगाएको भए मलाई त्यति दुख लाग्दैनथ्यो होला किनकी उसले नबुझेर भन्यो भनेर चित्त बुझाउने अवस्था पनि आउथ्यो तर जसले बुझेको छ त्यही लेबलमा बसेर काम गर्दै आउनु भएको छ उहाँहरुले नै चर्को स्वरमा म माथि आरोप लगाइरहनु भएको छ । अझ काँग्रेसले अर्कालाई नराम्रो भन्दै प्रचार ग¥यो भन्ने पनि थप्नु भएको छ । म अचम्ममा परेको छु । बरु मैले भन्नु पर्ने भयो कि अरुलाई नराम्रो भनेर भोट आकर्षित गर्ने काम गलत हो । जहाँसम्म कटुवाखोलाको पुल र बाटोको कुरा छ मैले योजना ल्याएको हुँ । तर कार्यान्वयन गर्ने पक्ष म होइन । यो त सरकारी निकायले गर्नुपर्छ । सरकारमा को को बस्नु भएको छ सवैलाई थाहा छ । तर मेरो भूमिका काम छिटो छरितो गर्नका लागि दवाव सिर्जना गर्ने हो मैले गरिरहेको छु । कारवाही गरेर हुन्छ कि के गरेर हुन्छ काम छिटो हुनुपर्छ भन्दै पनि आइरहेको छु । मलै प्रश्न गर्न चाहन्छु यो क्षेत्रमा म मात्रै सांसद होइन, अरु पनि हुनु भएको छ कमसेकम मैले योजना त ल्याए काममा ढिलाई भयो भन्ने कुरा त देशव्यापी रुपमै समस्याको विषय हो । दाङकै पुरन्धारा सुर्खेत सडक अहिले पनि अलपत्र छ । समस्या जताततै छन । कमजोरी नियम कानूनमा छ । मलाई गर्व के छ भने घोराहीमा फोरलेन सडक ल्याएर आए, कटुवाखोलामा मात्रै होइन धेरै खोलामा पुलको योजना हालेको छु । अहिले सडक विस्तार हुदा धुलो उड्यो भनिरहनु भएको छ । हो स्वास्थ्यमा समस्या हुन्छ त्यसले तर ४२ मिटरको सडक विस्तार गर्न लाग्दा यहाँका घरहरु सबै फालिने अवस्था आएको थियो । तर मैले सडक छेउ घरभएकाहरुसंग मिटिङ राखेर यसलाई मैले ३० मिटरमा कायम गरेर बाटो पनि हुने र घर पनि जोगाउने काम गरेको छु । वाइपास पनि निकाल्ने सहमति भएको थियो । यसरी काम गर्दा पनि उहाँहरुले ममाथि आरोप लगाउने हो भने ४२ मिटर सडक विस्तार गर्ने र घर काटिने दिन आउन सक्छन । त्यसैले मान्छेले गरेका गुणहरुलाई कामहरुलाई प्रशंसा गर्नुपर्छ जसले गरे पनि । अलि काममा ढिलाई भएको छ सवैले ताकेता गरौ, छिटो गरौं ।

७) सरकारमा तपाईहरु नै हुनुहुन्छ दाङलाई प्रदेशको स्थायी केन्द्र तोक्ने कस्ले छेक्यो ?

अ—स्थायी केन्द्र तोक्नकालागि हामीले पनि दवाव दिइरहेका छौ । केही प्राविधिक कारण पनि होला नत्र भने यो करिव फाइनल भएको कुरा हो । अव तोकियो भने दाङ नै तोकिन्छ । त्यसमा ढुक्क भएर बस्नुस । अन्यत्र तोकिदैछ भन्ने हल्ला मात्रै हो । हामी पनि सम्पर्कमै छौ नेताहरुसंग ।

८) मतदाताहरुलाई भन्न छुट्यो कि ?

म यही ठाउको हुँ । मलाई ०७० विजय बनाएर पठाउनु भयो । जुन अपेक्षका साथ म चुनिएर गए आज अपेक्षा पुरा भएको छ । म जनताको समस्यासंगै छु । जनताको सुखदुखमा संगै छु । जसरी मलाई हिजो माया गर्नुभयो, अव पनि त्यहीरुपमा लिएर मतदान गर्नुहुनेछ भन्ने अपेक्षासहित म लगायत नेपाली कांग्रेसका सम्पूर्ण उमेद्वारहरुलाई मत दिएर विजयी बनाउन सम्पूर्ण मतदाताहरुमा अनुरोध गर्न चाहनछु ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्