म दाङ को साझा व्यक्ति हुँः महरा




सैघाली खबर
दाङ, १४ मंसिर । उपप्रधानमन्त्री एवं दाङ क्षेत्र नम्बर २ का बाम उम्मेदवार कृष्णबहादुर महराले आफू सिंगो दाङवासीको साझा उम्मेदवार भएको बताउनुभएको छ । बिजौरीमा आयोजित चुनावीसभालाई सम्वोधन गर्दै उहाँले आफू बाम गठबन्धनको उम्मेदवार भए पनि मत भने सबै दलसँग आस्था राख्ने मतदाताबाट पाउने बताउनुभयो ।

दाङमा नौवटै सिटमा गठबन्धनले जित्ने दाबी गर्दै उहाँले आफूलाई इमान्दार कांग्रेसको पनि प्रत्यक्ष सहयोग रहेको बताउनुभयो । दाङ प्रदेश राजधानी आफ्नो मुख्य लक्ष्य भएको स्पष्ट गर्दै उहाँले पश्चिम नेपालको केन्द्र पनि दाङ बन्ने बताउनुभयो । प्रदेश राजधानी बनाउन बाम गठबन्धनका सबै उम्मेदवारले जित्नुपर्ने पनि उहाँले बताउनुभयो । आफू अर्थमन्त्री हुँदा दाङमा पाँच अर्ब बजेट विनियोजन गरेको उल्लेख गर्दै उहाँले अझै गर्न धेरै बाँकी रहेकाले आफूले योजनाबद्ध विकास गर्ने बताउनुभयो ।

प्रदेशसभा सदस्य उम्मेदवार अमरबहादुर डाँगीले जनताको समृद्धिका लागि गठबन्धनले जित्नुपर्ने बताउनुभयो । उहाँले जनता सचेत भइसकेकाले कसैले भ्रम छर्न जरुरी नरहेको बताउनुभयो । महरा र डाँगीले बिहीवार बिजौरी, बनकट्टा, नारायणपुर, दूधराश, मग्जैलगायनका स्थानमा आयोजित चुनावीसभालाई सम्वोधन गर्नुभएको थियो । बिजौरीमा भएको कार्यक्रममा समाजसेवी वीरबहादुर पुनको नेतृत्वमा १३ जना पार्टी प्रवेश गरेका थिए । नवप्रवेशीहलाई महराले स्वागत गर्नुभएको थियो ।

खत्री बन्धु र महरा समाजद्वारा स्वागत

यसैबीच बिहीवार महरालाई लामिछाने खत्री गर्ग गोत्र र महरा एकता समाज दाङले स्वागत गरेका छन् । उनीहरुले छुटछुट्टै कार्यक्रम गरी स्वागत गरेका हुन् । लामिछाने खत्री गर्ग गोत्रका अध्यक्ष पदमबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै महराले एकपटक आफूले अध्ययन गरेको, आफूले एकपटक चुनाव जितिसकेको र फेरि चुनाव लडेको दाङ आफ्नो सबैभन्दा भरपर्दो कर्मथलो भएको बताउनुभयो ।

सयौं आफन्तमाझ भावुकहुँदै महराले आफूलाई चुनाव जितेर गएपछि नफर्कने हो कि भनेर धेरैले प्रश्न गरेको उल्लेख गर्दै भन्नुभयो– ‘एक जना बहिनीले त निकै मालाको भारी लिएर आउनुभएको रहेछ, अहिले यति माला किन लिएको भनेको त उहाँले अब चुनाव जितेपछि आउनुहुुन्न होला, अहिले नै लडाइदिन्छु पो भन्नुभयो, यसलाई मलाई थप भावुक बनायो ।’ २०६४ सालमा दाङबाटै चुनाव जिते पनि त्यसपछि निरन्तर संविधान निर्माण र शान्ति प्रक्रियामा लाग्नुपरेकाले आफू कम आएको उल्लेख गर्दै अब हरेक महिनाको पाँच दिन आफ्नै क्षेत्रका मतदातासँग बस्ने वाचा गर्नुभयो ।

नेता महराले आफूलाई दाङमा चुनवा लड्न गठबन्धनले मात्र नभइ स्थानीय कयौं कांग्रेसका नेता कार्यकर्ताले पनि माग गरेको खुलासा गर्नुभएको छ । ‘म गठबन्धनको उम्मेदवार हुँ नै, कांग्रेसका धेरै नेता कार्यकर्ताले पनि मलाई दाङबाटै चुनाव लड्न दबाब दिएका थिए, उनीहरु अहिले सम्पर्कमै छन् र आन्तरिक प्रचारमा पनि लागेका छन् ।’ अहिले दाङमा चुनाव लडेका नेतामध्ये आफूलाई सबैले नेताको पनि नेता मानेकाले आफूले पनि सोहीअनुसार दायित्व पूरा गर्ने बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्