सैघाली खबर
काठमाण्डौ, १५ मंसिर । मतदान सकिएको पाँच दिनपछि शुक्रबार गोरखा–१ को मतपेटिका भण्डारण गरेको भबनमा सीसी क्यामेरा जडान गरिएको छ। गोरखा–२ को मतपेटिका भण्डारण गरेको ठाउँ जिल्ला समन्वय समितिमा भोलि सीसीक्यामेरा जडान गरिनेछ ।
मतपेटिकाले भरिएका बाकस राखिएका कोठाहरु भएका महिला तथा बालबालिका कार्यालय र जिल्ला समन्वय समितिको कार्यालय वरपरका क्षेत्रको बाटो प्रयोग गर्न सर्वसाधारणलाई गाह्रो छ ।
मतपेटिकाको सुरक्षार्थ तीन वटा घेरामा सुरक्षाकर्मी परिचालन गरिएका छन्। म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन भएका हुन्। जिल्ला प्रशासन अगाडिको सडकमा नेपाली सेनाले काँडेतारसहितको बाँसको बार लगाएको छ।
यो बाटो भएर सरकारी अड्डाका रुपमा रहेका जिल्ला समन्वय समिति, जिल्ला प्राबिधिक कार्यालय, नेपाल बिद्युत् प्राधिकरण, जिल्ला नापी कार्यालय, सरकारी वकिल कार्यालय, जिल्ला कारागारमा आउने सेवाग्राही, कर्मचारी, निजी घरको बासिन्दा र गोरखा बोर्डिङ्गका शिक्षक, बिद्यार्थी, संचालक, अभिभावक पनि आहोरदोहोर गरिराख्नुपर्छ।
व्यस्त बाटोको छेउको घरमा मतपेटिका भण्डारण गर्दा केही समस्या देखिएका छन्। एउटै मान्छेलाई नियमित चेकजाँच, शरीर जाँच गरिन थालेपछि स्थानीय बासिन्दा असन्तुष्ट देखिन्छन्। उनीहरुले बिद्युत् प्राधिकरणको महशुल तिर्न जान पनि समस्या भएको गुनासो गर्न थालेका छन्।
स्थानीय बासिन्दाले पासको माग गरेका छन्। पासको व्यबस्थाका लागि स्थानीय प्रशासन सकारात्मक देखिएपनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले पास दिन मानिरहेको छैन।
सुरक्षा कडाइले स्थानीय बासिन्दादेखि स–साना कक्षामा पढ्ने बिद्यार्थी तनावमा छन्। यो तनाव अझै एक साता रहनेछ। भण्डारण गरिएकै ठाउँबाट मतपेटिकाको बाकस साँट्न सक्ने भयका बीच २४ सै घण्टा पहरेदारका रुपमा दलका प्रतिनिधि पनि पहरामा बसेका छन्।
गोरखा–२ को मतपेटिका राखिएको जिससको तीन तलामाथिको कोठाको झ्याल प्लाइउडले बारिएको छ भने तल काँडेतारको बार छ। बन्दुक बोकेका सुरक्षाकर्मीले चारै दिशाबाट पहरा दिइरहेका छन्।
हरेक दिन बेलुकी ९ बजेदेखि बिहान ४ बजेसम्म बाटो प्रयोगमा रोक लगाइएको छ। ‘सुरक्षा प्रबन्ध कसरी मिलाइएको छरु’ प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत भन्छन्, ‘मतपेटिका राखिएको क्षेत्रमा अत्यन्त कडा सुरक्षा दिएका छौं। बेलुकी कोही, कसैलाई हिँडडुल गर्न दिइँदैन। दिउँसो शरीर चेकजाँच गराएपछि मात्रै प्रवेश दिइन्छ।’
तीन घेरामा सुरक्षा दिइएको, सीसी क्यामेरा राखिएको र सेनाले ‘हाइ प्वाइन्ट’ बाट पहरा दिइरहेको बस्नेत बताउँछन्।
यस्तै मतपेटिका राखेका भवनमा लोडसेडिङ नहुने गरी उज्यालोको ब्यबस्था मिलाइएको छ। जिल्ला प्रशासन चोकदेखि नै रातभर सडक उज्यालो हुन्छ। यस्तै सेनाले मतपेटिका राखिएको भवनलाई घेरा बनाएर गस्ती गरिएको छ।
दोस्रो चरणको निर्वाचन सम्पन्न भएपछि २१ मंसीरमा साँझ ५ बजेपछि मात्रै ती मतपेटिकाहरु खोलिनेछन्।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।