भुकम्प पिडित अझै पालमुनी ‘ ३० महिनामा ४५ घर ’



सैघाली खबर
गोरखा, १५ मंसिर । गोरखामा सरकारी अनुदान लिएर ४५ सय वटा निजी घर निर्माण गरिएको छ। ‘गोरखा भूकम्प’ गएको तीस महिना कटिसक्दा सरकारी अनुदान रकम लिएर गोरखामा जम्मा चार हजार पाँच सय ८५ वटा भूकम्प प्रतिरोधी घर बनेका हुन्।

 

भूकम्पले करिब ७० हजार वटा घर तथा गोठ भत्किएको भएपनि सरकारले ६१ हजार तीन सय जना लाई घर बनाउन अनुदान दिने गरी लाभग्राही सूचीमा राखेको छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालय गोरखाका प्रमुख शिवलाल पौडेलले भने, ‘६१ हजार तीन सय लाभग्राहीमध्ये अहिलेसम्म ५८ हजार जनाले रु। ५० हजारका दरले पहिलो किस्ता, १२ हजार ९२० जनाले दोस्रो किस्ता र चार हजार पाँच सय ८५ जनाले तेस्रो किस्ता अनुदान बुझिसकेका छन्।’

सरकारले जग खन्नका लागि पहिलो किस्ता रु। ५० हजार, घरको डिपिसी गरेपछि दोस्रो किस्ता रु। एक लाख ५० हजार र घर निर्माण भइसकेपछि तेस्रो किस्ता रु। एक लाख दिने नियम बनाएअनुसार किस्ताबन्दीमा भूकम्पपीडितलाई घर बनाउन सघाएको छ।

पौडेल भन्छन्, ‘प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्राधिकरण, कोलेनिका र जिससलगायत कार्यालयका कर्मचारी खटिनुभयो, त्यसले गर्दा एक साता अनुदान बितरण कार्य प्रभावित बन्यो। बुधबारदेखि लाभग्राहीलाई पुनः अनुदान बितरण सुरु गरियो।’

कामदार, निर्माण सामग्री, मापदण्डको अन्यौलता, बैंक नहुँदा अनुदान किस्ता लिन सास्ती लगायत बाधाब्यवधानका बीच भूकम्पपीडितले घर बनाएका छन्। दक्षिणी भेगमा चिसो बढ्दै गएको छ भने उत्तरी गोरखामा भेगमा हिउँ पर्न सुरु गरिसकेको छ।

मर्मत गरेर बस्न मिल्ने घरलाई सरकारले मर्मत खर्च दिने बताएको छ। एक लाख रुपैंया मर्मत खर्च लिएर चर्किएका घरहरु मर्मत गर्न सकिन्छ। गोरखाका २०१९ जना भूकम्प पीडितको नामावली रु। एक लाखका दरले अनुदान पाउने प्रबलीकरणको सूचीमा भएपनि खासै घर प्रवलीकरण गरिएका छैनन्। भूकम्पपीडितलाई छिटो अनुदान लिएर घर बनाउन सरकारले आग्रह गर्दै आएको भएपनि बिभिन्न बाहनामा भूकम्पपीडिले घर बनाएका छैनन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्