४ जनाको रहस्यमय मृत्यु, कारण विषाक्त मदिरा रहेको आशंका



जनकपुरधाम, वैशाख १७ गते 

महोत्तरीको भंगहा नगरपालिकामा ४ जनाको रहस्यमयी मृत्यु भएको छ । वडानम्बर ७ स्थित मेघनाथ गोरहन्ना टोलमा बुधवार विहानसम्म ४ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा स्थानीय ४० वर्षका मोहन चौधरी, ५२ वर्षका नथुनी चमार, ५४ वर्षका लालबाबु सिंह र बर्दिवास नगरपालिकाका ५२ वर्षका गंगाराम सदा रहेको वडाध्यक्ष वासुदेव सिंह थारुले जानकारी दिए ।

उनका अनुसार मंगलबार साँझदेखि बुधबार बिहानसम्ममा उनीहरुकाे मृत्यु भएको हाे। सबै रक्सी पिउने व्यक्ति भएकाले विषाक्त मदिराकै कारण उनीहरुको मृत्यु भएको हुन सक्ने वडाध्यक्ष सिंहको अनुमान छ ।

महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले शव पोस्टमार्टम नगरी रक्सीकै कारण मृत्युु भएको निष्कर्षमा पुग्न नसिकने बताए ।

‘केही मानिस झाडापखालाबाट, केही रक्सी नखाने व्यक्तिको पनि मृत्युु भएको छ,’ उनले भने, ‘तीन/चार दिनको अन्तरालमा उनीहरुको मृत्यु भएको हामीले खबर पाएका छौं । एक जनाको शवलाई पोस्टमार्टम गर्न शव नियन्त्रणमा लिन प्रहरीको टोली जलाउने ठाउँमा पठाएका छौं। पोस्टमार्टम पछि मात्र केही भन्न सकिन्छ ।’

गंगाराम सदाको शव जलाउने स्थलमा प्रहरी पुग्दा जलाइ सकिएको थियो । लालबाबु सिंहलाई बिहान जनकपुर उपचारका लागि लाँदै गर्दा बाटोमै मृत्युु भएको थियो । चार जनामध्ये उनको शव मात्र जलाउन बाँकी रहेकाले प्रहरीले नियन्त्रणमा लिन गएकाे हाे ।

यसैबीच मृतक लालबाबुको घरबाट प्रहरीले रक्सी बरामद गरेको छ । यसकाे परिक्षण गरिने प्रहरीले जनाएको छ ।

विषाक्त मदिरा सेवनबाट उनीहरुको मृत्युु हुन सक्ने अाशंका भएपछि प्रहरीले स्थानीय मदिरा भट्टीमा छपामारी गरेको छ । स्थानीय रामपुकार सिंहको घरमा मदिरा तयार गर्न राखेको ८ सय लिटर कच्चा पदार्थ प्रहरीले नष्ट गरेको छ ।

तस्बिर : सौजन्य सञ्चारकर्मी धर्वेन्द्र यादव

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्