मुख्य समाचार

सहमति जुटाउन दलहरुको प्रयास, सभामुखले शीर्ष तहमा छलफल गर्ने ।।

By थाहा अनलाइन

June 05, 2017

जेष्ठ,२२ नयाँ प्रधानमन्त्री चयन प्रक्रियामा सहमति जुटाउन सभामुख ओनसरी घर्ती र प्रधानमन्त्रीका उम्मेदवार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पहल थाल्नु भएको छ । सहमतिको प्रयास स्वरुप सभामुख घर्तिमगरको अगुवाईमा आज साँझ प्रमुख दलहरुको बैठक बस्दैछ । ५ बजे सिंहदरबारमा प्रमुख दलहरुको बैठक बोलाइएको सभामुखका प्रेस सल्लाहकार वविन शर्माले जानकारी दिनुभयो ।

 

पुनः मतदान गर्ने निर्णय फिर्ता नभएसम्म संसदको अवरोध नखोल्ने एमालेको अडान पछि संसद बैठक चलाउन नसक्ने निष्कर्ष दलहरुले निकालेका हुन् । एक दिनको समय लिएर बैठक सारेका नेताहरुले आज आन्तरिक छलफल पनि गर्ने एमाले नेता माधवकुमार नेपालले जानकारी दिनुभयो । संसदको बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ । बैठक रोकिदा प्रधानमन्त्री छान्ने प्रक्रिया पनि लम्बिएको छ । राप्रपा, विजय कुमार गच्छ्यदार, केही साना दलले पनि देउवालाई प्रधानमन्त्री बनाउने बचन दिएकाले कांग्रेस, माओवादीलाई आफ्नो उम्मेदवारको पक्षमा बहुमत जुटाउन त्यति अफ्टेरो भने छैन । आज कांग्रेस सभापति देउवाले गृहमन्त्री विमलेन्द्र निधि र नेता ज्ञानेन्द्र कार्कीलाई छलफलका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा पठाउने तयारी गर्नु भएको छ । उहाँले राजपा नेताहरुसँग पनि छलफल गर्नुहुनेछ ।