सैघाली खबर
काठमाडौं,१७ मंसिर
गएको साउन महिनामा आएको बाढीबाट प्रभावित तराईमधेसका नागरिकले राहत पाउने भएका छन् । बाढीबाट प्रभावित नागरिकलाई चिसोबाट जोगाउन प्रतिपरिवार १० हजार र टहरा निर्माणका लागि १५ हजार रुपैयाँ दिने निर्णय सरकारले गरेको हो ।
कात्तिक २० गते बसेको मन्त्रीपरिषद्को बैठकले बाढी प्रभावित नागरिकलाई विशेष राहत प्याकेज दिने निर्णय गरेपनि के के राहत दिने भन्ने विषयमा खुुलाएको थिएन ।
विशेष राहत प्याकेज लैजाने जिम्मा मन्त्रिपरिषद्ले अर्थ मन्त्रालयलाई दिएको थियो । बाढीबाट प्रभावित ३५ जिल्लामध्ये अति प्रभावित १८ जिल्लाका नागरिकलाई राहत दिन लागिएको बाढीग्रस्त क्षेत्र पुनर्निर्माण आयोजनाका प्रमुख डा. सुमन कुमार कर्णले सीआईएनलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार बाढीपछि घरबार बिहीन भएर बसेका नागरिकलाई अल्पकालिन टहरा निर्माणका लागि १५ हजार, जाडोमा न्यानो कपडा खरिदका लागि १० हजार र कृषकहरुलाई बिउबिजन खरिदका लागि २ हजार रुपैयाँ राहत दिइनेछ ।
२ हजार रुपैयाँ पूर्ण क्षति र आंशिक क्षति भएका करिब २ लाख परिवारले पाउनेछन् भने १५ हजार र १० हजार पूर्ण क्षति भएका ५० हजार परिवारले पाउने कर्णले बताउनुुभयो । गएको साउन २७ देखि ३० गतेसम्म परेको अबिरल वर्षाका कारण आएको बाढीले तराई मधेसका १७ लाख जनसंख्या प्रभावित भएका राष्ट्रिय योजना आयोगले गरेको सर्वेक्षणमा उल्लेख छ ।
बाढीका कारण एकसय ३४ जनाको मृत्युभएको थियो भने २२ जना घाइते भएका थिए । बाढीले ४१ हजार ६ सय २६ घर पूर्ण रुपमा र एक लाख ५० हजार ५ सय १० घर आंशिक रुपमा क्षति भएको छ । बाढीका कारण ६० अर्ब ७१ करोड बराबरको क्षति भएको जनाइएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।