पाल्पामा वामगठबन्ध उम्मेदवार सवार जिपलाई लक्षित गरी बम प्रहार



सैघाली खबर
पाल्पा,१७ मंसिर


पाल्पामा वाम गठबन्धनबाट प्रदेशसभाका उम्मेदवार सवार जिपलाई लक्षित गरी सकेट बम प्रहार गरिएको छ। शनिबार राति तिनाउ गाउँपालिकाको नुवाकोट र डढेगाउँको चुनावी सभा सकेर लु १ ज ३४२५ नम्बरको जिपमा फर्किएका उम्मेदवार तुलाराम घर्तीमगरलाई लक्षित गरी सकेट बम प्रहार गरिएको प्रहरीले जनाएको छ।

बमको छर्रा लागेर सवारी चालक शर्माप्रसाद श्रेष्ठ घाइते भएका छन्, उनको लुम्विनी अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। उम्मेदवारसहित जिपमा सवार ८ जना भने सकुशल रहेका छन्।

चुनाव प्रचारप्रसार गरेर फर्किएका उनीहरुमाथि तिनाउँ गाउँपालिका २ डढेगाउँको बीच जंगलमा शनिबार बेलुकी सात बजेतिर सकेट बम प्रहार भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक दिल्लीराज पन्तले जानकारी दिए। विस्फोट कसले र किन गराएको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

उम्मेदवार घर्तीमगरले आफूहरु सवार जिप भन्दा झण्डै एक मिटर अगाडि बम विस्फोट भएको बताए। उम्मेदवार घर्तीमगर नेकपा माओवादी केन्द्रका पोलिट्व्यूरो सदस्य हुन्। उनी बाम गठबन्धनका तर्फबाट पाल्पा क्षेत्र नम्बर २ ९२० को उम्मेदवार हुन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्