यो देशको प्रधानमन्त्री अब ओली हुन् ः प्रचण्ड



सैघाली खबर
काठमाण्डौ, १७ मंसिर ।पुत्रवियोगको शोकलाई शक्तिमा बदल्दै निर्वाचनमा होमिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको प्रधानमन्त्री एमाले अध्यक्ष केपी ओली नै हुने बताएका छन्।

 

निर्वाचन व्यवस्थापनको अन्तिम तयारीमा आफ्नो निर्वाचन क्षेत्र चितवनबाट काठमाडौं आएका दाहालले पत्रकारहरु संग कुरा राख्दै अबको यो देशको प्रधानमन्त्री केपी ओली हुने बताए । बाम गठबन्धनले दुई तिहाई ल्याउने र प्रधानमन्त्री केपी ओली बन्ने निश्चित नै रहेको बताए ।

विकास निर्माणमा जनताको चासो
निर्वाचनले जनतामा उत्साह छाएको छ। वाम गठबन्धनप्रति भरोसा बढ्दो छ। मेरो आफ्नै निर्वाचन क्षेत्र चितवनमा पनि वातावरण राम्रो बनेको निष्कर्ष छ। मतदाताको मुख्य ध्यान विकास निर्माणमा छ। राजनीतिक रूपमा सचेत जनताले चाहिं राजनीतिक स्थायित्व होस् भन्ने पनि चाहेका छन् । तर मुख्य विषय ठूलो आयोजना र स्थानीय विकास निर्माणकै छ।

राष्ट्रिय लिडरसिपप्रति जनताको भरोसा
आफू हुर्केको, पढे–खेलेको, बढेको ठाउँ, त्यहीं आफ्ना साथीभाइ, आफन्त बढी भएका नाताले अन्यत्रभन्दा त्यहाँ फरक ‘सेन्टिमेन्ट’ हुने कुरा स्वाभाविक हो। अहिले चितवनका जनताले एउटा ठूलो उत्साह र भरोसा मानेको स्थिति देख्छु। त्यहाँ जनतामा पार्टीगत विभाजन नै छैन। के कांग्रेस, के वाम गठबन्धन, के राप्रपा सबै नै राष्ट्रिय स्तरको ‘लिडरसिप’ चितवनको विकास र समृद्धिका निम्ति चाहिन्छ भन्ने भावना आम जनतामा छ।

यो भावना जो देखेको छु, यसलाई मानिसहरूले पैसाले ‘डाइभर्ट’ गर्छन्, करोडौ खर्च गरेर यो भावना डाइभर्ट हुन्छ भन्ने लाग्दैन। जनताको भावना अर्बौं खर्च गरेर पनि बेचिन्छ र किनिन्छ भन्ने लाग्दैन।

अधिनायकवाद आउँछ भन्नु लाजमर्दो
हामी सबैले मिलेर संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनायौं। त्यही संविधानको हस्ताक्षरकर्ता पार्टीले फुटेका कम्युनिस्ट जुट्दै छन् भन्दैमा अधिनायकवाद आउँछ भन्नुचाहिं हास्यापद, गलत र लाजमर्दो हो ।

यत्रो ठूलो लोकतन्त्रका निम्ति लडेको, बीपी–गिरिजाहरूले बनाएका पार्टीका नेताहरूले अहिले आएर अधिनायकवाद आउँछ भन्नु, पहिले ६० वर्ष पुगेपछि कम्युनिस्टहरूले मार्छन् भनेर प्रचार गरिन्थ्यो नि, हो त्यस्तै हो। शान्तिपूर्ण राजनीति, लोकतान्त्रिक प्रणालीमा हाम्रो प्रतिबद्धता भइसक्यो, संविधान सबैले मिलेर बनाइसक्यौं, त्यसैले अब त्यही संविधान कार्यान्वयनको चरणमा हामी छौं भने यहाँ अधिनायकवादको कुरा कहाँबाट आयो ? हाम्रो भनाइ त फुटेका कांग्रेसहरू सबै मिलून् भन्ने हो ।

धेरै पार्टी हुनुभन्दा थोरै पार्टी हुँदा देशमा विकास निर्माण र स्थायित्वका लागि फाइदा हुन्छ। राष्ट्रको हितमा हुन्छ। मैले त नेपाली कांग्रेसका साथीहरूलाई बारम्बार भनेको भन्यै छु– विजय गच्छदार अहिले मिल्नुभयो, राम्रो भयो, अब महन्थ ठाकुरजीहरूलाई पनि मिलाउनुहोस्, त्यसले कांग्रेसलाई राम्रै हुन्छ । किन बेकारमा धेरै पार्टी चाहियो।

हामीले लोकतन्त्रको भावना र मर्मअनुसारकै घोषणापत्र सार्वजनिक गरेका छौं। त्यसभन्दा बाहिर हामी जाने कुरा छैन। उहाँहरूले दुई तर्क गर्नुभएको छ, जसमा तालमेल पनि छैन । पहिलो कुरा, मिलेर अधिनायकवाद ल्याउने भए, संविधान संशोधन गर्ने भए पनि भन्नुहुन्छ, यो आधारहीन छ ।

अनि अर्कोतर्फ, यो गठबन्धन अवसरवादी हो, चुनावी रणनीतिका लागि मात्र हो, पछि टुटिहाल्छ नि पनि भन्नुुहुन्छ । कुनचाहिं हो उहाँहरूले भन्न खोज्नुभएको रु यसबाट के देखिन्छ भने कांग्रेसका साथीहरू अलिकति आत्तिनुभएको छ । यसरी आत्तिनुपर्ने केही कुरो छैन । लोकतन्त्रमा पार्टीहरू मिल्छन्, फुट्छन् । लोकतन्त्र, राष्ट्र र जनताको हित तथा स्थायित्वका लागि थोरै पार्टी हुनु राम्रो हुन्छ ।

प्रधानमन्त्रीमा ओलीको संभावना
पार्टी एकता संयोजन समिति गठन गरेर सहमति सार्वजनिक गर्ने बेलामा लिखित रूपमा हामीले यो समितिका दुई प्रमुख नेता भनिएको छ । दुई पार्टीका अध्यक्ष नै यो पार्टी एकताका प्रमुख नेता हुने भनिएको छ । यति भनेपछि अहिले नै को–के हुने भन्ने ‘फाइनल’ त गरेका छैनौं तर पार्टी अध्यक्ष, राष्ट्रपति, प्रधानमन्त्रीलगायत थुप्रै कार्यकारी पद हुन्छन्, ती पदमा हामी सजिलै एकअर्कालाई ‘एडजस्ट’ गर्न सक्छौं ।

औपचारिक ढंगले निर्णय गरिनसके पनि ठूलो पार्टी हुनुको नाताले र अहिले संख्यात्मक हिसाबले पनि प्रधानमन्त्री एमालेकै अध्यक्ष हुने प्रबल सम्भावना रहन्छ । हाम्रो बहुमत आउँछ । तीनवटै तहको सरकारमा वामपन्थीको बहुमत हुने भयो । स्थानीय तहमा त भई नै सक्यो । अब प्रदेशसभा र प्रतिनिधिसभामा पनि हुन्छ । पहिलो चरणको निर्वाचनको मतको आकलन गर्दा त हामी दुई तिहाइकै नजिकजस्तो छौं । बहुमत भएपछि प्रधानमन्त्री र अरू कुराका बारेमा हामीले मिलाएर गर्ने भनेका छौं ।

बम विस्फोटका घटना गंभिर
ठाउँठाउँमा बम विस्फोटका घटना भएका छन् । एकजनाको मृत्यु भइसकेको छ । केही घाइते भए । आपराधिक र अराजनीतिक खालका घटना भए । मैले गरेको हो भनेर कसैले भन्दैन । कुनै राजनीतिक मान्छे भएको भए, समूहले भनेको भए राजनीतिक उद्देश्य भन्नुपर्ने ।

घटना हुँदा एक पक्षले गरेको हो कि जस्तो देखिन्छ । त्यो नहुन पनि सक्छ । कोही आपराधिक पक्षले गरेको पनि हुन सक्छ । यी आपराधिक र अराजनीतिक घटना हुन् भनेर भन्न कतै द्विविधा छैन । राजनीतिक हुन् भने यो राजनीतिक उद्देश्यका लागि भन्नुपर्‍यो । राजनीतिक उद्देश्य भए त्यहीअनुसार ‘डिल’ गर्न सकिन्छ । कसैले पनि जिम्मा नलिए डिल गर्ने अर्को तरिका हुन्छ ।

मुख्य गरी सरकारको गृह मन्त्रालयले यी घटनालाई गम्भीरतापूर्वक लिएर नियन्त्रण गर्नुपर्नेमा त्यहाँ कहीं न कहीं कमजोरी देखिएको छ । घटनामा संलग्न भएको आशंकामा पक्राउ परेका मान्छेलाई छोड्ने कुरा पनि गरे । सरकारको नेतृत्व गर्ने पार्टीकै कतिपय मान्छे नरम भएजस्तो देखिएको थियो । दुई–चार दिन वामलाई परोस् भनेर न्यानो मानेका थिए । पछि विस्फोटका घटना उनीहरूप्रति पनि भए । त्यसपछि नियन्त्रण गर्न खोजेजस्तो देखिन्छ ।

देशका सबै युवायुवती प्रकाश हुन्
निर्वाचन प्रक्रिया अघि बढिरहेका बेला छोरा प्रकाशलाई निर्वाचन व्यवस्थापनका केही कामका लागि चितवनबाट काठमाडौं पठाएको थिएँ । यही घरमा बसिरहेका बेला अचानक हृदयाघात भएर उसको निधन भयो । निर्वाचनको मुखमा परिवार र पार्टीका लागि मर्माहत घटना थियो त्यो ।

मैले आर्यघाटमा दागबत्ती दिँदै गर्दा मनमा स्वतः आयो– यो देशका सबै युवायुवती मेरा लागि प्रकाश हुन् । त्यही सोच्दै जनतातिर फर्केर मेरा दुई हात उठे । अहिले चितवनका सभामा भन्ने गरेको छु– मेरा लागि देशका सबै युवायुवती प्रकाश हुन्, उनीहरूको उन्नति, रोजगारी र देशका लागि काम गर्नु मेरो बाँकी जीवनको संकल्प हो । प्रत्येक घरमा प्रकाश ल्याउँछु भनेको छु ।

अर्को पाटो के हो भने प्रकाश सफल भएर गयो । उसले ३६ वर्षमा झन्डै ७२ वर्ष बाँचेर गयो जस्तो लाग्छ । उसका पछिल्ला काम हेर्दा परिपक्व हुँदै आएको थियो । आम जनता र युवाको उसप्रति सद्भाव र परिवारप्रति समवेदना देखा पर्‍यो ।

अहिले मेरा लागि त्यही नै शक्ति हो । मैले शोकबाट शक्ति पाएको छु । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले फोन गरी भावुक भएर आफ्नै परिवारको सदस्य गुमेजस्तै समवेदना दिनुभयो । चीन सरकारले तुरुन्तै समवेदना पठायो, राष्ट्रसंघबाट पनि समवेदना आयो । देशभरिबाटै समवेदना आए, यो पार्टी, त्यो पार्टी भन्ने नै भएन । घटना अप्रत्याशित, अकल्पनीय गरी आयो तर जनताबाट मलाई ठूलो ताकत मिलेको छ ।

आफैंप्रति गौरव लाग्छ
इतिहासमा थोरै मान्छेलाई मात्र यस्तो अवसर प्राप्त हुन्छ, जो मलाई भयो । मैले विद्रोह गरें, त्यो विद्रोहलाई शान्तिपूर्ण अवतरण गराएँ । त्यो विद्रोहमार्फत् ठूलो राजनीतिक परिवर्तन भयो ।

संघीय लोकतान्त्रिक गणतन्त्रसम्म देशलाई डोर्‍याउने मुख्य कारक पनि मैले नेतृत्व गरेको आन्दोलन बन्यो । अनि शान्तिसम्झौता पनि सफल ‘स्टोरी’ का रूपमा आएको छ । अहिले अमेरिका र युरोपमा यसको अध्ययन हुँदै छ, यसरी सफल कसरी भयो भनेर । संविधानसभाबाट संविधान बनाउने ६०–६५ वर्षदेखिको मुद्दा थियो । त्यसमा पनि मैले नेतृत्व गर्ने अवसर पाएँ ।

संविधान कार्यान्वयन गर्ने बेला के हुन्छ भन्ने थियो । स्थानीय तहको निर्वाचनमा सिंगो देश मधेस, पहाड, हिमाल, तराईलाई ल्याउने भूमिका प्रधानमन्त्रीका रूपमा मेरो रह्यो । त्यसकारण अब प्रदेश र संघको निर्वाचन भइसक्यो भने पनि हुन्छ ।

त्यसो हुँदा म आफूलाई गौरवशाली पात्रका रूपमा पाउँछु । यति अवसर– विद्रोह, ठूलो राजनीतिक परिवर्तन, शान्ति प्रक्रियाको सफल कार्यान्वयन, संविधानसभा, संविधान घोषणा र त्यसको कार्यान्वयन अनि स्थिर सरकार बनाउने र नेतृत्व गर्ने अवसर आइपुग्यो ।

यो प्राप्त गर्न धेरै चुनौती र अग्निपरीक्षामा म छिर्नुपर्‍यो । ठूला अप्ठ्याराको सामना नगरी यो आएको होइन । इतिहास र जनताले यसको उच्च मूल्यांकन गर्छन् भन्नेमा म विश्वस्त छु । अब त मेरा लागि राष्ट्र र जनताबाहेक अरू स्वार्थ छैन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्