आज प्रचारको अन्तिम दिन, राती १२ बजेबाट मौन अवधि



सैघाली खबर

काठमाडौं,१८ मंसिर

प्रतिनिधि तथा प्रदेशसभा दोस्रो चरण निर्वाचन अन्तर्गत आज प्रचारको अन्तिम दिनहो । आजराति १२ बजेबाट मौन अवधि सुरु हुँदैछ । मौन अवधि सुरु भएपछि निर्वाचन सम्पन्न नभइन्जेल २१ मंसिर साँझ ५ बजेसम्म उम्मेदवारहरूले चुनावी प्रचारप्रसार र मत माग्ने कार्य बन्द गर्नुपर्नेछ ।

निर्वाचन आयोगका अनुसार राजनीतिक दल, दलका उम्मेदवार, दलका पदाधिकारी, स्वतन्त्र उम्मेदवार, नागरिक समाज, आममतदाता तथा सञ्चारमाध्यम कुनै पनि प्रकारका चुनावी प्रचारप्रसारमा संलग्न हुन पाइँदैन ।

मतदान हुनुभन्दा अघिल्लो ४८ घण्टादेखि मौन अवधि सुरु हुने निर्वाचन आचारसंहिता २०७२ मा उल्लेख छ । आयोगले मौन अवधिभर निर्वाचन आचार संहिता विपरीत हुने कुनै पनि गतिविधि नगर्न राजनीतिक दल, उम्मेदवार र सञ्चार माध्यमहरू सँग आग्रह गरेको छ ।

२१ मंसिरमा दोस्रो चरण निर्वाचनअन्तर्गत ४५ जिल्लामा प्रतिनिधि सभाका १ सय २८ र प्रदेशसभाका २ सय ५६ उम्मेदवार चयनका लागि मतदान हँुदैछ । प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ निर्वाचन क्षेत्रमा निर्वाचन हुँदै छ ।

पहिलो चरणको निर्वाचन भने गत १० मंसिरमा ३२ जिल्लामा भइसकेको छ ।दोस्रो चरण निर्वाचनमा कुल १ करोड ५४ लाख २७ हजार ९ सय ३५ मतदातामध्ये १ करोड २२ लाख ३५ हजार ९ सय ९० मतदाताले भाग लिने आयोगले जनाएको छ ।

२१ मंसिरमा ७ हजार ७ सय ५२ मतदान स्थलका १५ हजार ३ सय ४४ मतदान केन्द्रबाट मतदान गरिँदै छ । मौन अवधिमा निर्वाचन प्रचार गर्न तथा मत माग्न नपाइने एसएमएस, फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जालबाट मत माग्न नपाइने आयोगले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्