कतारमा एक नेपाली नागरिकलाई गोली हानेर मृत्युदण्ड दिईयो



काठमाण्डौँ, जेठ ८
ठूलो संख्यामा नेपाली रहने गरेको कतारले एक नेपालीलाई हत्या अभियोगमा गोली हानेर मृत्यु दण्ड दिएको छ । कतारमा कुनै पनि नेपालीमाथिको यो पहिलो सजाय हो । नेपालको महोत्तरी राही–१, का अनिल चौधरीलाई गोली हानी मृत्युदण्ड दिइएको हो । कतारी नागरिक उमैर मोहम्मद उमैर अल रमाजानी अल–नुयमीको हत्या गरेको अदालतको फैसला पछि चौधरीलाई मृत्युदण्ड दिईएको हो ।

कतारको तल्लो अदालतको फैसलालाई सर्वोच्च अदालतले पनि अनुमोदन गरेपछि र पीडित भनिएको परिवारले माफी दिन अस्वीकार गरे पछि मृत्युदण्ड दिईएको हो ।

उनलाई गोली हानेर मृत्युदण्ड दिनु अघिल्लो दिन कतारको विदेश मन्त्रालयले नेपाली राजदुतावासलाई जानकारी गराएको थियो । त्यस लगत्तै दुतावासले नेपालको परराष्ट्र मन्त्रालयलाई पत्रै पठाएर यो मृत्युदण्ड रोक्न पहल गर्न अनुरोध गरेको थियो । तर नेपालको तर्फबाट के गरियो भन्ने परराष्ट्र मन्त्रालयले कुनै जानकारी सार्वजनिक गरेको छैन । चौधरीको शब कतारको स्थानीय अस्पतालमा राखिएको र अब नेपाल पठाउने तयारी गरिदैछ ।

चौधरीले कतारी नागरिक अल नुएमीलाई खुकुरी प्रहार गरी हत्या गरिएको अदालतको आदेशमा उल्लेख गरिएको छ । चौधरीलाई तीन बर्षदेखि नै गिराफ्तार गरेर जेलमा राखिएको थियो । अदालतको आदेशमै गोली हानेर मृत्युदण्ड दिईएको कुनै पनि नेपालीलाई यो पहिलो पटक हो ।

अरु पनि कतिपय नेपालीले मृत्युदण्ड पाए पनि अहिले सम्म कार्यन्वयन गरिएको थिएन । पहिलो पटक नेपाली नागरिकले कतारमा मृत्युदण्डको सजाय भोग्न पुगेका छन् । नेपालमा समेत मृत्युदण्डको सजायको व्यवस्था छैन ।

चौधरी २०१५ अगष्ट २७ गते कतार गएका थिए । उनी कार धुने कम्पनीमा सामान्य मजदुरको हैसियतमा काम गर्थे । उनलाई केन्द्रीय कारगारमा राखिएको थियो । उनलाई तल्लो अदालतले डिसेम्बर १२, २०१७ मा मृत्युदण्डको सजाय सुनाएको थियो । त्यसपछि अनिल सर्वोच्च अदालतमा पुनरावेदनका लागि गएका थिए तर सर्वोच्च अदालतले तल्लो अदालतकै फैसलालाई सदर गरिदिएको थियो । कतारमा करीब ४ लाख नेपाली रहदै आएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्