बाँकेमा ५ दिनमा मतगणना सक्ने तयारी



सैघाली खबर,
बाँके, १९ मंसिर । – मुख्य निर्वाचन अधिकृतको कार्यालय बाँकेले ५ दिनभित्र प्रत्यक्ष र समानुपातिकको मतगणना सक्ने गरी तयारी भएको जनाएको छ । बाँकेका मुख्य निर्वाचन अधिकृत बिष्णु सुवेदीले प्रत्यक्ष र समानुपातिकको मतगणना ५ दिनभित्र सक्ने गरी योजना बनाइएको जानकारी दिनुभयो ।
बाँकेमा स्थानीय तहको मतगणनामा ढिलाई भएको भन्दै आमनागरिक आक्रोशित भएका थिए । यसपटक मतपत्रमा उम्मेदवारको चुनाव चिन्ह कम भएका कारण गणनामा सहज हुने अपेक्षा गरिएको छ । मुख्य निर्वाचन अधिकृत सुवेदीका अनुसार, जिल्लाका सबै मतदानस्थलमा कर्मचारी पुगेर व्यवस्थापनको काममा लागेका छन् ।

मतगणनास्थलमा मतदाता परिचयपत्र वितरणको कार्य भइरहेको मुख्य निर्वाचन अधिकृत सुवेदीले बताउँनुभयो । कर्मचारी र सुरक्षाकर्मी सहितको टोली मतपत्र, मतपेटिका, मतदाता परिचयपत्र लगाएतका ६४ किसिमका चुनावी सामग्री सहित मतदान केन्द्रमा खटिएका छन् ।
२ लाख ७६ हजार ६ सय १८ मतदाता रहेको बाँकेमा १ सय ३६ मतदान केन्द्र र ३ सय २७ मतदान स्थल रहेका छन् । चुनाव सम्पन्न गराउनका लागि करिब २ हजार ६ सय १६ जना कर्मचारीसहित ठुलो संख्यामा सुरक्षाकर्मीलाई परिचालन गरिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सकेसम्म मतदान सम्पन्न भएकै दिन मंसिर २१ गते राति नै अन्य प्रक्रिया पु¥याएर मत गणनाको सुरुवात गर्ने तयारी गरेको छ ।
राति १०र११ बजेसम्म मतपेटिका गणनास्थलमा पुर्‍याउन सकेमा तत्कालै मतगणना सुरु गर्ने आयोगको तयारी रहेको छ । ढिलो गरी मतपेटिका मतगणनास्थलमा पुगेमा भने मंसिर २२ गते बिहान ८ बजेदेखि मतगणना कार्य सुरु गर्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृत सुवेदी नेतृत्वको टोलीले मंगलबार बाँकेका केही मतदानस्थलको स्थलगत निरीक्षण गरी मतदानका लागि भइरहेको प्रक्रियाको बारेमा जानकारी लिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्