साँगाबाट चार ट्रक भारतीय मजदुर नियन्त्रण




काठमाण्डौँ, जेठ ९
कोरोना भाइरस सङ्क्रमण फैलिदै गएको अवस्थामा रोमथाम र नियन्त्रणका लागि एक ठाउँबाट अर्को ठाउँमा आवतजावतमा समेत रोक लगाएको अवस्थामा हिंडेरै साँगामा आइपुगेका भक्तपुरका इँटाभट्टामा काम गर्ने भारतीय मजुदरलाई प्रहरीले फर्काएको छ ।

काभ्रेपलाञ्चोक र भक्तपुरको सीमानाका साँगाबाट आज बिहान ४ बजे लुकीछिपी हिंडेर आइपुगेका १४५ भारतीय मजदुरलाई सीमा नाकामा सुरक्षार्थ खटिएका प्रहरीले भक्तपुरतर्फ फर्काएको हो ।

भारतको विहारबाट आएर भक्तपुरको कुमारी इँटा उद्योग र चाँगुनारायण इँटा उद्योगमा काम गर्दै आएका मजदुर बन्दाबन्दीका कारण समस्यामा परेको भन्दै हिंडेरै जान लागेको अवस्थामा बिहान ४ बजेको समयमा नियन्त्रणमा लिएको सीमानाकामा सुरक्षार्थ खटिएका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (सइ) हरिशरण बस्नेतले बताए । उनीहरुलाई चार वटा ट्रकमा चढाएर पहिला बस्दै आएको ठाउँमै फर्काइएको हो ।

उनका अनुसार बिपी राजमार्ग हुँदै हिंडेर जाने भन्दै साँगा आइपुगेपछि त्यहीबाट प्रहरीले नियन्त्रणमा लिएर इँटा भट्टा सञ्चालकसँग सम्पर्क गरी त्यहीबाट गाडी मगाएर सोही ठाउँमा फर्काएको हो ।

बन्दाबन्दीका कारण काम नभएर बसिरहनुपरेको र साहुले एक व्यक्ति बराबर हप्ताको रु ६०० दिएको रकमले छाक टार्न समस्या भएको र घरबाट पनि फोन आइरहेका कारण हिंडेरै जान भनेर निस्केको उनीहरुले बताएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्