नेपाल–भारतको सिमा बन्द



सैघाली खबर

वीरगन्ज ,१९ मंसिर । मंसिर २१ गते बिहीबार हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको सुरक्षाका लागि भन्दै भारतसँग सीमा जोडिएका पर्साका सबै नाका ७२ घण्टाका लागि बन्द गरिएको छ।

भारतसँग सीमा जोडिएका पर्साका सबै नाका सोमबार राति १२ बजेदेखि निर्वाचन हुने मंसिर २१ गते राति १२ बजेसम्मका लागि बन्द भएको पर्साका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले जानकारी दिए ।

पर्सा जिल्लाको एक सय सात किलो मिटर भूभाग भारतको बिहारसंग जोडिएको छ। निर्वाचन सुरक्षाका लागि भन्दै सोमबार बसेको जिल्ला सुरक्षा समिति पर्साको बैठकले भारतसंग सीमा जोडिएका पर्साका नाका बन्द गर्ने निर्णय गरेको हो।
बिहीबार हुने निर्वाचनको सुरक्षामा सीमापारीबाट हुने खतरालाई मध्य नजर राख्दै भारतसँग सीमा जोडिएको पर्साको एक सय सात किलोमिटर सीमा नाका सोमबार रातिदेखि बन्द गरिएको पर्साका प्रहरी उपरीक्षक गणेश रेग्मीले बताए।

सोमबार राति नाका बन्द गरिएसँगै सुरक्षाकर्मीले नेपाल–भारत सीमामा सवारी सधानको आवतजावतमा रोक लगाएका छन्। भारतबाट नेपाल प्रवेश गर्ने मुख्य नाका वीरगन्ज भन्सार कार्यालय अगाडिको ढाट सुरक्षाकर्मीले खसाएर ताल्चा लगाइदिएका छन्।

नेपाल भारत सीमा नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले साइकल, मोटरसाइकल, रिक्सा, टयाम्पु समेतका सवारीसधानको आवजावतमा रोक लगाएका छन्। सीमा वारपार गर्ने पैदल यात्रुहरुलाइ पनि सुरक्षाकर्मीले शारीरिक खानतलाशी गरेर मात्रै आवात जावत गर्न दिएका छन्।

निर्वाचनको सुरक्षालाई मध्यनजर गरेर भारतसँग सीमा जोडिएका क्षेत्रको सुरक्षालाई बिशेष प्राथमिकतामा राखिएको पर्साका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले बताए। पर्सामा रहेका एक सय ६७ वटा मतदान स्थल मध्ये भारतसँग सीमा जोडिएका स्थानमा रहेका ७३ वटा मतदान स्थललाई सुरक्षाको दृष्टिकोणले अति संवेदनशील मानिएको छ।

नेपाल र भारतमा हुने गरेका हरेक निर्वाचनमा दुवै सीमावर्ती क्षेत्रका प्रशासनिक अधिकारीको आपसी सहमतिमा सीमा नाका सिल गर्ने गरिन्छ।
निर्वाचनलाई भयरहित र निष्पक्ष कसरी बनाउन सकिन्छ भन्ने उद्देश्यले सुरक्षा रणनीति पनि तयार पारिएको भन्दै प्रमुख जिल्ला अधिकारी सिंहले सीमा क्षेत्रमा लागुऔषध नियन्त्रण, मदिरा निषेध, हातहतियार ओसारपसार, आपराधिक गतिविधि, चोरी तस्करी लगायतका घटना हुन नदिन विशेष निगरानी बढाइएको जानकारी दिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्