सिसिटिभी राखेर मतगणना गर्न निर्देशन



सैघाली खबर,
काठमाडौं २० मंसिर।( निर्वाचन आयोगले मतगणना स्थलमा सकेसम्म सिसिटिभी राख्न सबै जिल्ला निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको छ ।
प्रत्यक्षतर्फका प्रतिनिधिसभा र प्रदेशसभाको मत परिणाम एक साताभित्रै घोषणा गरिसक्ने लक्ष्य राखेको आयोगले मतगणनामा धाँधली नहोस् भनेर सिसिटिभी राख्न निर्देशन दिएको हो ।

‘सकेसम्म मतगणना स्थलमा अप्रिय घटना नहोस् भनेर सिसिटिभी राखेर मतगणना गर्न निर्देशन दिएका छौं,’ प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले  भने, ‘जति सम्भव हुन्छ, सिसिटिभी राखेर मतगणना गर्नेछौं ।’ यादवले मंसिर २१ गते ४५ जिल्लामा हुने प्रतिनिधिसभा र प्रदेशसभा दोस्रो चरणको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । उनले निर्वाचनका लागि सरकारले सुरक्षाको समेत बलियो बन्दोबस्त गरेको भन्दै ढुक्क भई मतदान गर्न आग्रह गरे ।

‘सुरक्षामा अहिले व्यापक सुधार आएको छ, मतदाताका लागि सरकारले भरपर्दो सुरक्षा प्रबन्ध गरेको छ । म सुरक्षाको बलियो व्यवस्थाबारे पूर्ण विश्वस्त छु,’ यादवले भने, ‘त्यसैले ढुक्क भई मतदान गरी निर्वाचन सफल बनाउनुहोस् ।’

निर्वाचनमा व्यापक उत्साह देखिएको भन्दै निर्वाचनलाई पर्वका रुपमा लिएको समेत यादवले बताए । ‘निर्वाचनको तयारीको क्रममा व्यापक जनसहभागिता देखिएको छ, मतदातामा उत्साह छाएको छ । यो निर्वाचनलाई हामीले पर्वका रुपमा लिएका छौं,’ यादवले भने । यादवले निर्वाचनको व्यवस्थापकीय कामसमेत पूरा गरिसकेको बताए ।

‘मतदाता परिचपत्र वितरणदेखि अन्य व्यवस्थापकीय काम सम्पन्न भइसकेको छ । आयोग २४ सै घन्टा तयारी अवस्थामा छ,’ यादवले भने । आयोगका सम्पूर्ण पदाधिकारी निर्वाचन हुने ४५ वटै जिल्लामा सूक्ष्म अनुगमनमा खटिएको जानकारी उनले दिए ।

मतदान सकिएलगत्तै सुरक्षित तवरले मतपेटिकाहरु केन्द्रमा पु¥याउनका लागि सम्बन्धित कर्मचारी तयारी अवस्थामा रहेको यादवले बताए । त्यस्तै, मतगणनाका लागि पनि आयोगले आवश्यक निर्देशिका जारी गरिसकेको छ । ‘मतगणनाका लागि जनशक्ति तयारी अवस्थामा छ । भूगोल र स्थान हेरेर उपयुक्त ठाउँमा गणना गरिनेछ,’ यादवले भने ।

प्रत्यक्षतर्फको मतपरिणाम एक साताभित्रै आउने गरी आयोगले गणना गर्न निर्देशन दिएको छ । त्यस्तै, मतगणनामा कुनै अप्रिय घटना नहोस् भनेर निर्वाचन अधिकृतलाई सिसिटिभी राख्न पनि निर्देशन दिइएको छ । ‘मतगणना छिटोछरितो गर्नुपर्छ । यहीअनुसार हामीले केन्द्रबाट निर्देशन जारी गरिसकेका छौं,’ यादवले भने ।

मौन अवधि सुरु भएकाले यो अवधिमा सबै सरोकारवालाले विशेष ध्यान दिनुपर्ने उनको आग्रह छ ।
मौन अवधिमा आचारसंहिताविपरीत काम भएको पाइएमा आयोगले कडाभन्दा कडा कारबाही गर्ने उनले बताए ।
दोस्रो चरणको निर्वाचनमा ७० प्रशितभन्दा बढी मत खस्ने यादवको अनुमान रहेको छ

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्