मनोरञ्जन

नेपालबाट अमेरिकामा न्वारान

By Thah Online

May 27, 2020

ओमप्रकाश गुप्ता जेठ १४ गढवा । सोमवार बिहान नेपालको ८ बज्दै थियो भने अमेरिकामा बेलुकाको ७ बज्दै थियो । कोरोना भाइरसको लकडाउनले गढवा बजार शुन्यप्रायः थियो । गढवाका स्थानेश्वर पौडेलको घरमा शुुभकार्य चल्दै थियो तर पण्डित बाहेक अन्य इष्टमित्र र आफन्त कसैलाई पनि बोलाइएको थिएन । अनलाइन प्रबिधिबाट अमेरिकामा जन्मीएकी नातिनीको न्वारान कर्म गर्ने र नाम राख्ने योजनाका साथ घरमा पण्डित बोलाइयो । पण्डित बिरेन्द्र पन्थीले बैद्धिक बिधिबाट पाठगर्न सुरु गरे । ल्यापटप र मोबाइलको प्रबिधिबाट तस्विर हेर्दै अमेरिकामा रहेका गढवाका शुरेश पौडेल र प्रमिता पौडेलले भिडियो कलकै माध्यमबाट छोरीको नाम राख्ने न्वारान कर्म सुरु गरे । गढवाका एक सामाजिक ब्यक्तित्व एवं गढवा गाबिसका पुर्व उपाध्यक्ष स्थानेश्वर पौडेलले अमेरिकामा नातिनी जन्मेपछि प्रबिधिको प्रयोग गर्दै नेपालबाट न्वारान गर्ने चाँजोपाँजो मिलाउनु भएको हो । कोरोना भाइरसको लकडाउन र त्रासका कारण अमेरिकामा ११ दिनअघि जन्मीएकी नातिनीको न्वारान भिडियो कलकै माध्यमबाट घरमा पण्डित बोलाएर देउखुरीको गढवा स्थित आफ्नै निवासबाट स्थानेश्वर पौडेल र सिता पौडेलले सम्पन्न गरे । अमेरिकामा गएका छोरा बुहारीलाई बच्चा जन्मेपछि कोरोनाका कारण बिश्वस्तरमै ठूलो महामारी फैलिएको अमेरिकामा हिन्दु संस्कार बमोजिम न्वारान गर्न समस्या भएपछि पौडेलले भिडिओ कलकै माध्यमबाट नातिनीको न्वारानको चाँजोपाँजो नेपालमै मिलाउनु भएको बताउनुभयो । नातिनी जन्मेको ११ औं दिनसम्म अमेरिकामा रहेका छोरा बुहारीसंग सल्लाह गरि भिडियो कलको माध्यमबाट नेपालबाट न्वारान गर्ने र नाम राख्ने निधो गरेको पौडेल दम्पतिले बताए । प्रबिधिले अहिले बिश्व भुमण्डलीकरणको रुप लिदै संसारलाई निकै नजिक बनाएको छ । कोभिड–१९ को महामारीको बेला अमेरिकामा कहाँ पण्डित खोज्ने र न्वारान कर्म कसरी गर्ने भन्ने अन्यौल भएको बेला आफुले छोरासंग सल्लाह गरेर यस्तो जुक्ति अपनाएको पौडेलले बताए । लकडाउनको समयमा केहिदिनअघि गढवाकै कपिलदेव खनालले पनि अमेरिकामा नाति जन्मीएपछि यस्तै प्रबिधिबाट न्वारान कर्म सम्पन्न गरेका थिए । गाउँठाउँमा पनि प्रबिधि भित्रिएपछि सबैलाई प्रबिधिको प्रयोग अनुकरणिय बनेको छ