अपराध

दाइको नाममा जमिन पास गरेको भन्दै बाबुको हत्या गर्ने पक्राउ

By Thah Online

May 28, 2020

सर्लाही, १५ जेठ आफ्नै बुबा ७० वर्षीय राम अधिन रायको कर्तव्य गरी हत्या गरेको अभियोगमा बसवरिया गाउँपालिका-५ धनगढा टोल बस्ने ३५ वर्षीय बिनोद रायलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

राम अधिनलाई आफ्नै गोठको आँगनमा कर्तव्य गरी मारेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरीले राम अधिनको शव फेला पारेको हो । अभियुक्तको तत्काल खोजी गर्ने क्रममा आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा विनोदलाई प्रहरीले पक्राउ गरेको हो ।

राम अधिनले जग्गा जमिन अभियुक्तका दाइको नाममा मात्रै पास गरिदिएको विषयलाई लिएर बाबु सुतिरहेको अवस्थामा बाँसको लठ्ठीले शरीरका विभिन्न भागमा प्रहार गरी मारेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

घटनामा प्रयोग भएको बाँसको लठ्ठी लगायतका सामान प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।