भारतबाट आएका नागरिकलाई स्वास्थ्य परीक्षणबिना भित्र्याइँदै, जोखिम बढ्यो



काठमाडौं । भारतमा तीव्ररूपमा कोरोना सङ्क्रमण फैलिएपछि रोजगार तथा अध्ययनका लागि भारत गएका नेपाली स्वदेश फर्कने क्रम बढेसँगै भारतबाट आएका नागरिकलाई स्वास्थ्य परीक्षणबिना भित्र्याइँदा यहाँ जोखिम बढेको हो ।

कैलालीको गौरिफन्टा नाका हुँदै पछिल्लो दुई सातामा २३ हजारभन्दा बढी नेपाली नागरिक स्वदेश भित्रिएको तथ्याङ्क छ । नेपाल–भारत सीमा गौरिफन्टा नाकाबाट जेठ २ गतेबाट स्वदेश फर्कने नागरिकको उद्धार थालिएकामा हालसम्म २३ हजारभन्दा बढीलाई नेपाल प्रवेश गराइसकिएको छ ।

जेठ २ गतेबाट नेपाल भित्र्याउन थालिएकामा सबैभन्दा बढी १३ गते पाँच हजार २४२ भित्रिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले सामग्री अभावका कारण नाकामै परीक्षणको व्यवस्था मिलाउन नसकिएको बताएका छन् । “शुरुमा भित्रनेको सङ्ख्या कम हुँदा त्यो प्रयास गरेकै हौँ तर त्यसको केही समयकै आउनेको सङ्ख्या पनि बढ्यो र स्वास्थ्य सामग्री अभाव भएपछि हामीले परीक्षण रोक्नुपर्ने बाध्यता भयो”, जोशीले भने । अहिले परीक्षणबिना नै सम्बन्धित स्थानीय तहमा नागरिकलाई पठाइरहेको उनको भनाइ छ ।

भारतबाट फर्किएकालाई यसरी स्वास्थ्य परीक्षण नगरी सोझै पालिकामा पठाउँदा कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमा फैलिने चिन्ता बढेको छ । तर, प्रदेश सरकारले भने परीक्षणको व्यवस्था मिलाउन सकेको छैन ।

जोखिम क्षेत्रबाट आएकालाई सोझै पालिकामा पठाउने प्रदेश सरकारको कार्यप्रति कैलालीको लम्कीचुहा नगरपालिकाका प्रमुख महादेव बजगाईँले विमति जनाए । उनले भने, “प्रदेश सरकारले सीमामै भारतबाट आउने नागरिकको स्वास्थ्य परीक्षण गरिदिएको भए गज्जब हुने थियो, सङ्क्रमणको डर पनि हट्ने थियो तर त्यसो भएन ।”

कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरी पनि प्रदेश सरकारको कामदेखि असन्तुष्ट छन् । नगरप्रमुख चौधरी प्रत्येक दिन भारतबाट कम्तीमा १०० जना आफ्नो पालिकामा आइरहेको हुनाले व्यवस्थापनमा समस्या भएको बताउँछन् । त्यसका साथै सही व्यवस्थापन नगरेका कारण कोरोनाको जोखिम अझै बढ्न सक्ने अनुमान रहेको प्रमुख चौधरीले बताए ।

यता सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा गुणराज अवस्थीले भारतबाट फर्किएकालाई १४ दिन क्वारेन्टिनमा राखेपछि उनीहरूको परीक्षण गरेर घर पठाउने अवस्था बताउँछन् । उनले सुदूरपश्चिममा आवश्यक स्वास्थ्य सामग्री खरिद भएर आउने क्रममा रहेको हुनाले परीक्षणको दायरा बढ्ने बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्