कविता -_जातको दम्भ=- नेपाली दिलिपकुमार
हिजोआज,
जब फेसबुक भित्ताहरुमा
तिम्रो जातको दम्भ आउछ
मलाई तिम्रो जात गन्हाउछ
तिम्रा पिता पुर्खाले ‘कोरोना भाइरस’ जस्तै
‘जातको भाइरस’ बनाई समाजमा फैलाएकाले
तिमि आफुलाई उच्च जात भनेर घमण्ड त गरौला
तर मलाई तिमि भन्दा नीच कोहि लाग्दैन
किनकि तिम्रो सोचमा मानवता छैन।
तिम्रो ब्यबहारमा कुनै धर्म छैन
छ त केवल जातको घमण्ड !!
के घमण्ड गर्छौ ?
नढाति भनु भने
तिम्रो पुर्खाहरु समाजका अपराधीहरु हुन्
जसले जात अनि उच-निच बनाए
मान्छेलाई छुत र अछुतमा बाँडे
भेदभाब गरे अनि गर्न सिकाए
राम्रो जति सबै आफ्नो भने
नराम्रो जति निमुखामाथि थोपरे
श्रम गर्ने, कलिगढ़ी गर्नेलाई हेप्न सिकाए
गाई मार्दा आमाको हत्या भनेउ
तिम्रो पुर्खाले ‘अछुत’ बनाएकालाई मार्दा
पुण्य कमाए झैँ सामान्य भनेउ
बरु अछुतले छुतजस्तो ब्यबहार गर्न खोजेर हुन्छ ? भनेउ
तिमीमा मानबियताको कुनै अंश छैन
फेरी के को घमण्ड गर्छौ ?
आजकल तिम्रो जात गन्हाउँछ
तिम्रो जातमा कुनै सुगन्ध छैन।
सांचै भनु भने
समाजमा कुरीति रोप्ने र फैलाउने तिमि
सदियौं देखि सत्ता र सक्तिमा बसेर
आफ्नै नागरिकमाथि भेदभाब गरने तिमि
हेप्ने तिमि, हेपाउने तिमि
समाज बिगार्ने तिमि
बेथिति बसाल्ने तिमि
देश बेच्ने, सिमा मिच्न दिने तिमि
भ्रस्टाचार फैलाउने तिमि
लोकतान्त्रिक समाज बन्न नदिने तिमि
समतामुलक समाज बन्न नदिने तिमि
तिमीमा त्यस्तो के गुण छ र !
र पनि तिमि जातको घमण्ड गर्छौ !
तिम्रो पिता पुर्खाले थुपारेको
अन्याय र अत्याचारको पर्खालहरु छ
बरु अलिकति पनि लज्जाबोध हुन्छ भने
जातको घमण्ड छाड,
किनकि
त्यहाँ कुनै सुगन्ध नै छैन।
बरु आउ संगै मिलेर
तिम्रो पितापुर्खाको कारण तिम्रो भागमा परेको
अमनाबियतालाई पखालौ !
समाजको कलङ्क पखालौ
अनि जातियेताकै कारण हुने भेदभाबको जरा उखेलौ !
जब जातको आधारमा गरने अन्याय हट्छ
जब पिडितले न्याय पाउँछन
फेरी नबराज बिक, अजित मिजार र सेते दमाइहरुले
प्रेम गरेको आधारमा मारिनु पर्ने छैन !
लक्ष्मी परियार र कल्लिकुमारी बिकहरुले
बोक्सीको आरोपमा मलमुत्र खानुपर्ने छैन
अनि मारिनुपर्ने छैन।
धेरै माया बिकहरुले पानी छोएको निहुमा
कुटपिट र मारिनुपर्ने छैन।
फर्केर हेर एकपटक
तिम्रो जातले बनाएको समाजको कुरुप तस्बिर।
बदल आफुलाई !!
तब गर्नु जातको घमण्ड
र भन्नु अब मेरो जातमा कुनै दुर्गन्ध छैन
अनि आफै फर्कन्छ सुगन्ध
जातको सुगन्ध, समानताको सुगन्ध !
हाल – मेरिल्याण्ड, अमेरिका
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।