सगरमाथा आरोहणको ६७ वर्ष : ६ हजार ५०१ जनाले गरे सफल आरोहण




काठमाण्डौँ, जेठ १६
विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा मानवले पहिलोपटक पाइला टेकेकको आज ६७ वर्ष पूरा भएको छ। दुई साहसी पर्वतारोही तेन्जिङनोर्गे शेर्पा र सर एडमन्ड हिलारी २९ मे सन् १९५३ मा ८८४८ मिटर अग्लो सगरमाथाको शिखरमा पुगेका थिए।

सगरमाथामा मानव पाइला परेको पहिलो दिन २९ मेलाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसका रूपमा नेपाल र विदेशमा समेत विभिन्न कार्यक्रमका साथ मनाइँदै आएको छ।

तेह्रौँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस आज नेपालमा पनि औपचारिक कार्यक्रम गरी मनाइएको छ। सन् २००८ देखि सगरमाथा दिवस मनाउन शुरू गरिएको थियो। यस वर्ष कोभिड-१९ महामारीको जोखिमका कारण अघिल्ला वर्षहरु जस्तै भव्य समारोह भने गरिएन।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज सिंहदरबारमा कार्यक्रम गरेर सगरमाथा आरोहीको स्मरण गर्दै उनीहरुले नेपालको पहिचानलाई विश्वसामु पुर्‍याएको योगदानको सम्मान जनाएको छ। नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघलगायतका पर्यटन क्षेत्रका संस्थाहरू कार्यक्रममा सहभागी थिए।

पर्यटन विभागका अनुसार सन् १९५३ देखि सन् २०१९ सम्मको अवधि अर्थात् ६७ वर्षे सगरमाथा आरोहण इतिहासमा ६ हजार ५०१ स्वदेशी तथा विदेशीले सगरमाथाको सफल आरोहण गरिसकेका छन्। यीमध्ये तीन हजार ४७८ नेपाली आरोही छन्।

सन् २०१९ मा मात्रै सगरमाथासहितका हिमालबाट ५६ करोड रोयल्टी उठेको छ । सगरमाथाबाट मात्रै ४५ करोड रूपैयाँ रोयल्टी उठेको छ। गत वर्षको वसन्त ऋतुमा ६६० जनाले सगरमाथा आरोहण गरेका थिए ।

सर्वोच्च शिखर सगरमाथाप्रति जति गर्व गर्छौँ त्यति नै चुनौति भपिएको पर्यटनमन्त्री योगेश भट्टराई बताउँछन्। उनी भन्छन्, “सगरमाथा नेपालमा छ भन्ने कुरा जति हामीलाई गर्व छ, त्यत्तिकै हाम्रा लागि चुनौति पनि छ। सगरमाथाको स्वच्छता, सुन्दरता र सफाइलाई कायम राख्‍न धेरै नै चुनौतिपूर्ण छ ।”

यस वर्ष महामारीका कारण सगरमाथा सफाइ हुन नसके पनि छिट्टै यो कामलाई निरन्तरता दिइने मन्त्री भट्टराईले बताए। पर्वतारोहण क्षेत्रलाई कानूनी रूपमा व्यवस्थित गर्ने प्रयास भइरहेकोले छिट्टै नै पर्यटन ऐन ल्याइने उनले जानकारी दिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्