हत्यामा संलग्न सवैलाई आजिवन कैद हुनुपर्छ : नेपाली




ओमप्रकाश गुप्ता/सिसहनियाँ १६ जेठ
रूकुम पश्चिममा भएको जघन्य घटनाको विरोधमा दाङको लमहीमा विरोध प्रदर्शन गरिएको छ । दलित युवा नवराज विक सहितका ६ जनालाई लखेटी लखेटी मारेको भन्दै दलित सचेतना अभियान लमहीले बिरोध प्रदर्शन गरेको हो ।

लमहीको सार्वजनिक बगैचाबाट शुरु भएको ¥याली बजार परिक्रमा गर्दै छम्पाली चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै दलित सचेतना अभियान दाङ्गका अध्यक्ष शशीराम नेपालीले एक्काइसौ शताव्दिमा आएर पनि दलित माथि हुने जातीय छुवाछुत हुनु दुखद भएको बताएका छन् । देशमा कानुन हुदा हुदै पनि कानुनको उपहास गरेर दलित युवालाई हत्या गरिनु योजनाबद्द भएको भन्दै हत्यामा संलग्न सबैलाई आजीवन कैद गर्नु पर्ने नेपालीको माग छ ।

हिजोको दिनमा तिनै दलितलाई प्रयोग गरेर सत्ता संचालनमा पुगेका व्यक्तिबाटै दलित समुदाय अपहेलित हुनु परेको बताए । त्यस्तै अभियानका पुर्व अध्यक्ष गोपाल विश्वकर्माले आफ्नो प्रेमिका लिन गएका जाजरकोटका दलित युवा नवराज विक लगायत अन्य युवाहरुलाई लखेटी लखेटी हत्या गरेको भन्दै आक्रोस पोखे । देशमा गणतन्त्र आइसक्दा पनि यो कस्तो सस्कार हो दलितले गैरदलित केटीलाई बिहे गर्न नपाउनु ? उनले प्रश्न गरे । कार्यक्रममा बोल्दै पुर्व अध्यक्ष विश्वकर्माले घटनालाई तोडमोड गरेर पिडितलाई अन्यायमा पार्ने षडयन्त्र भए देशभरका दलितहरु सडकमा आउँ बाध्य हुने बताए ।

अभियानले रुकुम पश्चिम घटनाका बिरुद्द प्रेस बिज्ञप्ती समेत निकालेको छ । अभियानका अध्यक्ष शशीराम नेपालीद्वारा हस्ताक्षर गरेको बिज्ञप्तीमा सबै राजनीतिक दल सम्मिलित उच्चस्तरीय छानबिन समिति गठन हुनु पर्ने, जातिय भेदवाद तथा छुवाछुत गर्नेलाई संविधान र कानुनले तोके बमोजिम हदै सम्मको कारबाही हुनु पर्ने, ज्यान मर्ने र आपराधिक घटना घटाउने व्यक्ति पहिचान गरि आजीवन कारावास हुनु पर्ने, कसैको प्रभाव र दवाबमा नपरी निष्पक्ष अनुशन्धान हुनु पर्ने, बेपत्ता पारिएका युवाको खोजि र घाइतेको उपचार हुनु पर्ने र उक्त घटनाको छानबिन नहुँदै भ्रामक र घटनालाई कम्जोर पारेर दोषीलाई उम्काउने जस्ता सामाजिक संजालमा पोष्ट गर्नेलाई कानुनि दायरामा लिएर कारवाही हुनु पर्ने माग राखेका छन् ।

जाजरकोटका युवा नवराज बिक र रुकुम पश्चिमकी मल्ल थरकी युवती लामो समय प्रेम सम्बन्ध रहेका थिए । तिनै मल्ल थरकी प्रेमिकालाई बिहे गर्न भनेर घरबाट हिडेका जाजरकोटका युवा नवराज बिक सहित पाँच जनाले ज्यान गुमाएका छन भने एक जनाको अवस्था अझै अज्ञात रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्