विभेदको विरुद्धमा मेरो कलम

हातै बाध्न खोजेपनि वर्गीय विभेदको मुक्तिका विरुद्ध रोकिने छैन !


नेपालमा वर्गीय युद्ध छेडिएको दशकौ भयो । जातीय विभेद अन्त्यका लागि कानुन बनाएको पनि बर्षौ भयो । समाजमा सबै किसीमका जातीय छुवाछुत अन्त्यका लागि कानुन निर्माण भएर कार्यान्वयन शुरु भएको पनि बर्षौ भयो । तर छुवाछुत ज्यु का त्युँ छ । छुवाछुत निम्त्याउनेहरु कहिल्यै कानुनी कठघरामा उभिन सकेनन् ।

पत्रकारितालाई समाजको ऐना भनिन्छ । पत्रकारिताले गर्दा नै एकठाउँको जातीय छुवाछुतका घटना क्षणभरमै विश्वभर पुग्छन । तर अपसोच जातीय विभेदमा परेका दलित समुदायले कहिल्यै न्याय पाएनन् । उदाहरणको रुपमा ज्वलन्त घटना छ, रुकुम पश्चिमको सोतीमा भएको दर्दनाक घटना ।

प्रेम गरेकै भरमा नवराज विकसहित ६ जनाको ज्यान लिने घटना कारुणिक मात्रै होइन, नेपाली समाजको तितो यतार्थ पनि हो । तर जातीय विभेदका घटनामा राज्य कहिल्यै गम्भिर भएन । जुन दृश्य हामीले रुकुम पश्चिममा देख्यौ ।

जातीय नरसंहार भएको घटनालाई पूर्वगृहमन्त्री जनार्दन शर्माले लुकाउने प्रयास गरे । त्यसविरुद्ध हामीले कलम उठायौ । तर त्यो भ्रम छरियो भने । हामीले उठाएको कलम थाकेको छैन । मसी सकिएको छैन । मसी सुक्ला तर हामी फेरि आलो मसीले घटनाका पर्दा पछाडीका पात्रका बारेमा लेखिरहनेछौ ।

तर मैले समाजको नेतृत्व तहमा बसेकाहरुको मानसिकता बुझ्न सकिन । सत्यको पक्षमा समाचार लेख्दा त्यो भ्रम भनिन्छ । गाउँका ठूलाबडाले गरेको कामको बारेमा समाचार लेख्दा त्यसको प्रशंसा गरिन्छ । त्यही ठूलाबडाको काममा भएको अनियमितताबारे समाचार लेख्दा गलत, झुटो र खान नपाएको आरोप लाग्छ ।

पत्रकारिता इमान्दार पेशा हो । यसमा इमान्दारिता र सत्य पहिलो शर्त हुन । बाँकी सबै तपशिलका कुरा । तर समाजका जति पनि विषयमा हामी पत्रकारले कमल चलायौ । तर त्यो मेरो दलित समुदायको वर्गका लागि कहिल्यै भएन ।

रुकुम घटना जो मेरो आँखै अगाडी ताजै बनेर आयो । मृत्तक र मृत्तकका आफन्तका बारेमा धेरै पटक रिर्पोटिंग गरे । उनीहरुको वास्तविकता मैले विभिन्न मिडियामा पुर्याए । तर पनि यसले शासकवर्गलाई छोएन ।

उल्टै संघीय संसदमै रुकुम पश्चिमका जनप्रतिनिधि तथा पूर्वगृहमन्त्री जनार्दन शर्माले घटनाको खुलेआम ढाकछोप गर्न खोज्दा मैले मेरो कलमको निम भाचिएको महसुस गरेको छु । घटनाका बारेमा मिडियामा छ्याप्छ्याप्ती आइसक्दा पनि कसरी एउटा नेताले ढाकछोप गर्न सक्छ ? अनि कसरी जनताले पत्याउँछन ? प्रश्न गम्भिर छ ।

रुकुम घटनाको प्रत्यक्ष रिर्पोटिंंग गरिरहदा विभिन्न व्यक्ति, परिस्थिती र वास्तविकतासँग जुध्नुपर्यो । फोनमा धेरैले प्रभावमा पार्न खोजे । केहीले सहयोग गरे । प्रोत्साहन दिए । तर राजनीतिक पेशाका व्यक्तिहरुले भने रिरुत्साहित पार्न प्रयास गरिरहे । तर मेरो आग्रह, वास्तविकता बुझ्नुस । जातीय कारण देखाएर समुदायमाथि दमन गर्न छाड्नुस ।

चेतनाको कमी कि मानसिकताको उपज ?

माओवादीले मुक्तिको घोषणा ठान्ने १० बर्षे सशस्त्र द्धन्द्धको पहिलो शहीद थिए, दिलबहादुर रम्तेल । जो प्रहरीको गोली लागेर मारिएका थिए । कलिलै उमेरमा उनले जनयुद्धका नाममा छातीमा गोली थाप्दा माओवादीले वर्गसंघर्षको बलिदानी ठान्यो । दलित समुदायका रम्तेल पहिलो शहीद गनिदा आज माओवादी आन्दोलनमा दलित समुदायका कति जनाले शहादत प्राप्त गरे ? त्यसको लेखाजोखा छैन ।

नेपालमा जातीय विभेदको मुद्दामा थुप्रै बहस भयो । जातीय छुवाछुत कहिले अन्त्य हुन्छ ? भन्दा धेरैको उत्तर हुन्छ, बिस्तारै । अर्थात चेतना बढ्दै गएपछि जातीय विभेदको अन्त्य हुन्छ । जातीय विभेदको अन्त्य होला नहोला । त्यो यस्तो मानिसकता राख्नेको सोचमा पहिले अन्त्य हुन जरुरी छ ।

विभेद मानसिकतामा हावी छ भने कसरी समाजमा विभेद अन्त्य हुन सक्छ ? कसैलाई प्रेम गरेकै भरमा मानिसलाई मारेर फालिदिने मानसिकता पालेकाहरुलाई कसरी विभेद अन्त्यको प्रतिमूर्ति ठान्न सकिएला ? यसको जवाफ पाउन मुश्किल छ ।

रुकुम घटनामा पनि यही नियती दोहोरिएको छ । बाहिर जातीय विभेदको ठूल्ठूला कुरा गर्ने तर भित्र दलित युवालाई मार्न जाल रच्नेहरुबाट विभेद अन्त्यको मुक्तिको आश गर्नु बेकार हुन्छ । यसर्थ अब मेरो कलम जातीय विभेदको मुक्तिका लागि चल्नेछ ।

मैले जति पनि यो समाजका लागि पत्रकारिता गरेको छ । सकी नसकी समाचार लेख्ने कोसिस गरिरहेको छु । अब मैले समाजको वर्गको मुक्तिका लागि कलम चलाउने कोसिस गर्नेछु । मैले जबसम्म दलित वर्गको जातीय मुक्तिको आभास पाउदिन । तबसम्म मेरो कलम चलिरहनेछ ।

यसबीचमा जति अवरोध आओस, जति आरोप लागोस, जति प्रलोभन देखाइयोस, मेरो हातै बाध्न खोजेपनि वर्गीय विभेदको मुक्तिका विरुद्ध मेरो कलम रोकिनेछैन ।

(जाजरकोटका पत्रकार विश्वकर्मा क्रियाशील दलित पत्रकार संघ, कर्णाली प्रदेशका कोषाध्यक्ष हुन ।) 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्