रुकुम र रुपन्देहीको घटनाका दोषीलाई कारवाहीको माग गर्दै कपिलवस्तुका दलित अधिकारकर्मीले तौलिहवामा शान्तिपुर्ण जुलुस गरि ज्ञापनपत्र बुझाएका छन । कोरोना संक्रमणका कारण गरिएको लकडाउनलाई प्रभाव नपार्ने गरि सामाजिक दुरी कायम गर्दै प्रशासन चोकमा जुलुस गरि दलित अधिकारकर्मीले प्रमुख जिल्ला अधिकारी मार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन ।
प्रदेशसभा सदस्य माला गोतामे, दलित अगुवा मिना परियार, माया नेपाली, रामदेव पासी लगायतले प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेललाई ज्ञापनपत्र बुझाएका थिए । अधिकारकर्मीको टोलीले रुकुमका नवराज बिक सहितको हत्या र तथा रुपन्देहीकी अंगिरा पासीको करणी पश्चातको हत्याको घटनामा संलग्नहरुलाई हदै सम्मको कारवाहीको माग गर्दै १० बुदे ज्ञापनपत्र बुझाईएको हो ।
दलित अधिकारकर्मी, मानव अधिकारकर्मी र नागरिक समाजको अगुवाईमा दिईएको ज्ञापनपत्रमा घटना छानबिनका लागी उच्चस्तरीय आयोग वा समिति गठन, घटनामा संलग्नलाई कानुनी कारवाही, पिडितलाई सुरक्षा र राहत, रुकुम घटनामा मृत्यु भएका पाँच जनालाई साँस्कृतिक शहिद घोषणा, बेपत्ताको खोजी र घाईतेको उपचार, प्रत्यक मृतकका परिवारलाई १० लाख दरले क्षतिपुर्ति, घटना दोहरिन नदिन बिषेश योजना लागु गर्नु पर्ने र सुरक्षा निकायले प्रभावमा नपरी आवश्यक कारवाहीको बातावरण बन्नु पर्ने माग गरिएको छ ।
ज्ञापनपत्र बुझदै प्रजिअ पौडेलले घटनाका दोषीलाई कारवाही हुनु पर्ने र आफुले ज्ञापनपत्र सम्बन्धित निकायमा प्रेषित गर्ने प्रतिबद्धता जनाए । दलित समुदाय माथी भएका दुबै घटनाका बिरुद्ध न्यायका लागी आफुहरुले शान्तिपुर्ण प्रदर्शन तथा ज्ञापनपत्र बुझाएको अधिकारकर्मी मिना परियारले बताईन । जातिय बिभेदलाई आधार बनाई घटाईएका यस्ता घटनालाई निरुत्साहित पार्न राज्यको ध्यान केन्द्रित हुन जरुरी रहेको दलित सामाजिक बिकास केन्द्रका अध्यक्ष रामशरन रैदासले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।