कुखुराको मासुको मूल्य प्रतिकेजी १० रुपैयाँले बृद्वि



काठमाण्डौँ, जेठ २१
कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणको लागि मुलुक करिव तीन महिनादेखि लकडाउनमा छ। लकडाउनले गर्दा व्यापार व्यवसाय तथा हरेक मालसामानको आपूर्ति पनि ठप्प रहेको छ । सडकमा दुवानीका सवारीसाधन समेत थोरै मात्रामा गुडिरहेका छन् ।

यसले गर्दा सामान आपूर्तिमा समस्या आएको छ । यो समस्या अहिले मासु आपूर्तिमा पनि परेको छ । यसरी आपूर्तिमा समस्या आएर कुखुराको मासु आपूर्ति पनि कम भएको भन्दै पोल्ट्री व्यवसायी संघले कुखुराको तयारी मासुको मूल्य प्रतिकेजी १० रुपैयाँका दरले बृद्वि गरेको छ ।

मासुको मूल्य १० रुपैयाँले बढेसँगै अब मासुको थोक मूल्य प्रतिकिलो ३१० देखि ३१५ रुपैयाँ पुगेको छ भने बजारमा उपभोक्ताको लागि ३३० रुपैयाँसम्म पर्ने पोल्टी संघले जनाएको छ । संघका अनुसार तयारी मासुको मूल्यसँगै जिउँदो कुखुराको मूल्य पनि ३० रुपैयाँले बढाएर २२० रुपैयाँबाट २५० रुपैयाँ पुर्याएको संघले जानकारी दिएको छ ।

पछिल्लो समय कुखुराजन्य उत्पादनको मूल्य बढ्नुको मुख्य कारण कोरोना रोकथामको लागि मुलुक लकडाउनको समय अवधि बढिरहनु रहेको पोल्ट्री व्यवसायीहरुले बताएका छन् । लकडाउन अझै लम्बिदै जाने स्थिति रहेमा बजारमा कुखुराको मासु तथा अण्डाको मूल्य समेत बढ्दै जाने नेपाल पोल्टी व्यवसायी महासंघका अध्यक्ष गुणचन्द्र बिष्टले बताए । उनका अनुसार विगत साँढे दुई महिनादेखिको मुलुक लकडाउनका कारण ह्याचरी तथा कुखुरापालन व्यवसायमा ठूलो असर परेको छ।

उनले भने, यसको असरले यो व्यवसाय पनि धरासायीभएको छ । कतै आपूर्तिमा समस्या हुँदा कुखुरा खाल्डोमा हाल्नु परेको छ । भने कतै थोरै मूल्यमा बेच्नु परेको छ । तर अहिले आपूर्ति कम भएकाले केहि मूल्यबृद्वि गरिएको छ।

सामान्यतया माग तथा खपत बढेको अवस्थामा मूल्य बढ्ने भए पनि अहिले कुखुराको मासुको मूल्य बढ्नुको कारण लगभग उल्टो जस्तै रहेको देखिन्छ । बिक्री नै कम हुँदै गएपछि अधिकांश कुकुरापालक किसानहरुले अहिले आफ्ना पोल्ट्री फर्ममा नयाँ कुखुरा हाल्न छोडेको व्यवसायीहरुले बताएका छन् । यसले गर्दा पनि पछिल्लो समय कुखुराको उत्पादन र आपूर्तिमा कमी आउँदा यसको चाप बजार मूल्यमा परेको हो ।

करीब दुई महिनादेखि नै कुखुराको उत्पादन घट्दै गएको छ । उचित मूल्य नपाउँदा व्यवसायीहरुले केही महिना अघि उत्पादित चल्लाहरु नष्ट गरेका थिए । लकडाउन लागू भएपछि नै पालेका चल्ला र कुखुरा समेत जिउँदै गाडिएकाले बजारमा अभाव हुने अवस्था आउन सक्ने व्यवसायीहरुले बताएका छन् । लकडाउनको प्रभावले मासु पसलहरु केही समय मात्र खुल्ने भएकोले खपत कम भएको छ । यसबाट माग र बिक्री न्यून हुँदा उत्पादन पनि निकै कम भइसकेको छ, बिष्टको भनाइ छ।

लकडाउनको सुरुवाती दिनमा माग स्वाट्ट घट्दा अर्कोतर्फ उत्पादन बढी हुँदा मूल्य घटेको थियो । तर अहिले भने उपत्यकाको तुलनामा कुखुरा उत्पादनको हब तराई र चितवनमा कुखुराको मूल्य अझ बढेको छ । बजार ओरालो लागेपछि जोखिम मोलेर किसानहरुले उत्पादन गरेका छैनन् । अहिले सामान्य अवस्थामा तयारी मासुको मूल्य २ सय ५० देखि ३ सय रुपैयाँबीच हुनुपर्ने बिष्टले बताए । तर, यस्तै भइरहने हो भने अर्को महिना कुखुराकै मासुको मूल्य किलोको पाँच सय रुपैयाँ पुग्ने उनी बताउँछन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्