भारतमा एकैदिन ९ हजार बढी संक्रमित



काठमाण्डौँ, जेठ २२
भारतमा कोरोना भाइरस संक्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुँदै गइरहेको छ । भारतले कोरोना संक्रमणमा नँया रेर्कड कायम गरेको छ । पछिल्ला दिनहरुमा दैनिक संक्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ ।

बिहीबार सार्वजनिक गरिएको तथ्यांकमा पछिल्लो २४ घण्टामा संक्रमितको दैनिक संख्या मध्ये अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीहरुले जनाएका छन् । भारतमा पछिल्लो २४ घण्टाको अवधिमा ९ हजार ३०४ जना कोरोना संक्रमित भएका छन् ।

योसँगै देशभरी अहिलेसम्म संक्रमितको संख्या २ लाख १६ हजार ९१९ पुगेको छ । त्यसैगरी कोरोना भाइरसबाट संक्रमित भएर भारतमा अहिलेसम्म ६ हजार ७५ जनाको मृत्यु भइसकेको छ । बुधबार एकै दिनमा भारतमा कोरोना भाइरसका २६० जना संक्रमित व्यक्तिको मृत्यु भएको छ ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार देशभरी अहिले पनि १ लाख ६ हजार ७३७ जना सङ्क्रमित अवस्था मै रहेका छन् । त्यसैगरी १ लाख ४ हजार १०७ जना संक्रमण मुक्त भएर घर फर्किसकेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

मन्त्रालयको तथ्यांकअनुसार अहिलेसम्म सबैभन्दा धेरै संक्रमितको संख्या महाराष्ट्र प्रदेशमा रहेको छ । महाराष्ट्रमा मात्रै ७४ हजार ८६० जना सङ्क्रमित भएका छन् । दोस्रो धेरै संक्रमित रहेको तमिलनाडु प्रदेशमा २५ हजार ८७२ जना सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । दिल्लीमा २३ हजार ६४५ जना संक्रमित रहेका छन् ।

भारतमा पछिल्लो समयमा लकडाउनलाई खुकुलो बनाउदै लगिएको र परिक्षणको मात्रा पनि बढाइएकाले संक्रमितहरुको संख्या धेरै देखिँदै गएको अधिकारीहरुले बताएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्