यूएई र म्यानमारबाट नेपाली लिएर जहाज आउँदै



काठमाण्डौ । यूएई र म्यानमारमा समस्यामा परेकामध्ये केही नेपाली आज स्वदेश फर्कने भएका छन् । म्यानमारबाट २६ जना यात्रु बोकेको जहाज उडिसकेको र यूएईबाट पनि १६८ जना यात्रु तथा एक शवसहित जहाज आउने निश्चित भएको नेपाल नागरिक उड्डयनका प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्री जानकारी दिनुभयो ।

‘म्यानमारबाट जहाज उडेको छ, दिल्ली हुँदै आउने कि सिधै आउने भन्ने टुंगो लाग्न बाँकी छ,’ प्रवक्ता क्षेत्रीले भन्नुभयो, ‘यूएईबाट पनि जहाज आउने निश्चित छ, समय भने टुङ्गो लागिसकेको छैन ।’

यूएईले आफ्नै खर्चमा एयर अरेबियामार्फत समस्यामा परेका नेपालीलाई पठाउन लागेको हो । कोरोना जाँचसहित यूएईले एअर अरेबियाका ८ वटा उडानमार्फत नेपाली श्रमिकलाई नेपाल ल्याइदिने तालिकासहित प्रस्ताव पठाएको थियो ।

उडान हुने खबर अनुसार यूएईको एक कम्पनीले आफ्ना श्रमिकलाई तयार रहन भनेको छ । यूएईको दुबईमा रहेको इजाद फ्यासिलिटी म्यानेजमेण्ट कम्पनीमा लाइफगार्डको रुपमा कार्यरत श्रमिकहरु बिमानस्थलतर्फ गइसकेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्