समाचार

थप २७८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २९१२ पुग्यो, मृत्यु ११

By Thah Online

June 05, 2020

काठमाण्डौँ, जेठ २३ नेपालमा थप २७८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २७८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार २६७ जना पुरुष र ११ जना महिलामा संक्रमण देखिएको हो।

आज थपिएका २७८ सहित नेपालमा संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको प्रवक्ता डा देवकोटाले जानकारी दिए।

नेपालमा हालसम्म ३३३ जना उपचारपछि निको भएका छन्। पछिल्ललो २४ घण्टामा ४३ जना उपचारपछि निको भएर डिस्चार्ज भएका हुन्।

प्रवक्ता डा देवकोटाका अनुसार हालसम्म देशका ६८ जिल्लामा संक्रमण देखिएको छ। सुर्खेतका २८ वर्षिय पुरुषको मृत्यु भएको छ । यो संगै देश भर मृत्यु हुनेको संख्या ११ पुगेको छ ।