यसरी हुन पुगेको थियो धुर्मुस सुन्तलीको विवाह



कलाकार तथा सामाजिक अभियन्ता सीताराम कट्टेल उर्फ धुर्मुस र कुन्जना घिमिरे उर्फ सुन्तली मंसिर १४ गते विवाह बन्धनमा बाँधिएको ९ वर्ष पुरा भएको छ । रौतहटको सन्तुपुर बस्ती निर्माणमा सक्रिय रहेका यी दुईले १० औँ वैवाहिक वर्षगाँठ त्यहि बस्तीमै मनाउने भएका छन् । उनीहरुको वैवाहिक वर्षगाँठ पारेर आज हामीले उनीहरुको विवाह कसरी हुनपुग्यो ? त्यस विषयमा एक सामाग्री तयार पारेका छौँ । यस सामाग्रीका लागि सबै जानकारी सीताराम कट्टेलले दिएका हुन् ।

कलाकार बन्न संघर्ष गरिरहेका सीतारामले दमन रुपाखेतीको हाँस्य टेलिश्रृखला ‘लौन सतायो’मा व्यवस्थापक भएर कामगर्ने अवसर पाए । यहि टेलि श्रृङखलाले उनको भेट गरायो कुन्जना घिमिरे सँग । यहि सिरियलको छायाकंनको क्रममा पहिलो पटक सीतारामले मैतिदेवीमा कुन्जनालाई भेट्ने अवसर पाएका थिए । तर सीताराम भने त्यति छिट्टै बोल्ने गर्दैनथे । यहि कारण कुन्जनाले नै बोल्न सुरु गरेकी थिईन् । पछि उनीहरुको भेट रेडियो नेपालको दिनप्रतिदिन नामक कार्यक्रमले पनि गराउन थाल्यो । पछि ‘मेरी बास्सै’गर्ने निधो भयो । ‘मेरी बास्सै’मा कामगर्ने शिलशिलामा उनीहरुको भेट बाक्लिँदै गयो । ‘मेरी बास्सै’मा शुरुवातमा उनीहरु काका भतिजी भएर काम गरे । तर शहरी कथामा आधारित रहेर गरिएको उक्त कार्यक्रममा दर्शकको खासै रुचि देखिएन । यहिकारण उनीहरुले धुर्मस–सुन्तली नाम पाए र श्रीमान् श्रमितीको भूमिकामा देखिए । यो भूमिकाले उनीहरु दर्शकको आँखामा परे । सबैले उनीहरुको भूमिका मन पराईदिए । उनीहरु यहि नामले कलाकारितामा स्थापित भए । उनीहरु धुर्मुस–सुन्तली भएर स्थापित हुनुमा खेम शर्मा, दमन रुपाखेती, केदार घिमिरे र जितु नेपालको विशेष सहयोग र भूमिका छ ।

‘मेरी बास्सै’मा काम गर्नेक्रममाउ नीहरुको माग स्टेज कार्यक्रममा पनि हुन थाल्यो । यहिक्रममा उनीहरु एकपटक सीतारामको गृह जिल्ला झापा पुगे । झापामा पुगेर सीतारामको परिवारलाई नजिकबाट चिनेपछि कुन्जना सीताराम सँग झन् नजिक हुन थालिन् । सीतारामको परिवारको अवस्था बुझेर सीताराम प्रति कुन्जनाको माया झन् बढ्न थाल्यो । सीतारामको परिवारलाई लागेको ऋण तिर्न कुन्जनाले त्यतिबेलै साथ दिएकी थिईन् । त्यस बखत नै कुन्जना सहयोगी र सफा मनकी भएको भन्दै सीताराम उनी प्रति ईम्प्रेश भएका थिए ।
टेलिभिजनमा श्रीमान् श्रीमतीको भूमिकामा देखेका कारण बालबालिका देखि बृद्धाबृद्धसम्म सबैले उनीहरुलाई श्रीमान् श्रीमती जस्तै ठान्दथे । धेरैले वास्तविक जीवनमा पनि श्रीमान् श्रीमती बन्न आर्शिवाद दिन्थे । तर उनीहरुले यी कुराहरुलाई सामान्य रुपमा लिए र सहयोगी साथीका रुपमामात्र सम्बन्ध अगाडि बढाउँदै गए । यता केदार घिमिरे र दमन रुपाखेतीले पनि रमाईलो पाराले उनीहरुलाई जिस्काउन थालेका थिए । देश विदेशका कार्यक्रम आयोजकहरु जिस्क्याउँदै एउटै कोठा बुक गरे हुन्छ होलानी ! भन्न सम्म पनि पछि पर्दैनथे । सीताराम भने पुरुष प्रधान देशमा हुर्किएका कारण उनकालागि यी कुरा सामान्य थिए । तर कुन्जनाका लागि भने यी कुरा पीडादायि थिए । समाजका लागि यस्ता कुरा उनको कुरा काट्ने हतियार थिए । ईज्जतमा दाग लगाउने धब्बा थिए ।

तर यी सबै कुरामा कुन्जनाको सहनशिलता देखेर थाहै नपाई सीताराम कुन्जना प्रति आकर्षित भए । कुन्जनाकै कारण केटीसँग लजाउने र बोल्न डराउने सीताराम मायागर्ने प्रेमी बन्न पुगे । कुन्जनाले नै आफूलाई माया गर्न सिकाएको सीताराम बताउँछन् । कुन्जना मायालु हुनुका साथै हकी स्वभावकी पनि छिन् । यहि कारण सीतारामलाई मनका कुरा भन्न केही समय लाग्यो । एक दिन उनले मौका मिलाएर कुन्जनालाई मनका कुरा भने । तर कुन्जनाले भने उल्टै उनलाई सम्झाउन थालिन् । भर्खरै आफूहरु हाँस्य क्षेत्रमा स्थापित हुने क्रममा भएको भन्दै कुन्जनाले,‘यो समयमा हामी माया प्रेममा रमाउन थाल्यौँ भने बरालिन थाल्यौँ भने समाजले हामीलाई के भन्छ ?’भनेर उल्टै प्रश्न गरिन् । उनको प्रश्नमा दम थियो भन्छन् सीताराम ।

सीतारामले मायागर्ने कुरा थाहापाए पछि कुन्जनाले त्यसलाई सकारात्मक रुपमा लिईन् । यसले सीतारामलाई अझै निकटताको महसुस गरायो । डेटिङ बिना नै उनीहरु एक वर्ष सम्म एकअर्काको मायामा रहे । त्यस बखत झापाका ज्योतिष ढकाल चर्चामा थिए । उनले गरेका भविष्यबाणीहरु मिल्ने विश्वास धेरैलाई थियो । घर गएको मौकापारेर सीतारामले पनि आफ्नो चिना हेराए । सीतारामको चिना हेरेपछि उनले विवाह गरिहाल्न सुझाव दिए । त्यो पनि कुन्जना सँगै । विवाहमा सीतारामलाई भने कुनै पनि समस्या थिए । उनको परिवारले पनि कुन्जनालाई राम्ररी चिनेको थियो । तर कुन्जनाको परिवारमा भने सीतारामको परिवारको बारेमा खासै जानकारी थिएन । तर कुन्जनाले परिवारलाई मनाईन् । यसरी उनीहरुको विवाह हुने पक्का भयो । २०६५ सालको मंसिर १४ गते उनीहरुले लगनगाँठो कसे । विवाहको दुई दिन पछि नै उनीहरुले पोखरा महोत्सवमा प्रहसन दिए । यो नै विवाहपछि उनीहरुको पहिलो कार्यक्रम थियो । तर कुन्जना जीवनमा प्रवेश गरेपछि सीतारामको जीवनमा स्टेज कार्यक्रमको ओईरो नै लाग्यो । उनीहरु देश देखि विदेश सम्मका दर्शक हँसाउन व्यस्त भए ।

यसै क्रममा सरकारले उनीहरुलाई सरसफाई दुत घोषणा गर्यो । त्यस बखत पनि कुञ्जनाले नै सीतारामलाई हिम्मत दिएकी थिईन् । उनी भन्थिन्, ‘यो हामीलाई देशले दिएको जिम्मेवारी हो । हामीले यसलाई पूरा गर्नुपर्छ । चुपचाप बस्नु हुँदैन ।’ काखे छोरी छाडेर कुन्जना र सीताराम समाजमा मानिसको सोच परिवर्तन गर्न हिड्न थाले । सामाजिक अभियन्ता भएर उनीहरुले कामगर्न थाले ।
उनीहरुले सरसफाई दुतभएर कामगर्ने क्रममै नेपालमा विनाशकारी भुकम्प गयो । धेरै नेपालीहरु घरबार बिहिन भए । भुकम्पपछि घरबार बिहिन भएकाहरुलाई घर बनाईदिने काम गर्न यो जोडीले शुरु गर्यो । शुरुमा काभ्रेको डाँडागाउँमा ‘धुर्मुस–सुन्तली एकिकृत नमुना बस्ती’बन्यो । यो बस्ती त्यति सहजै निर्माण भएको थिएन । बस्ती निर्माणको कार्य भईरहँदा आर्थिक अभाव भएर सीताराम चिन्तामा परेकाथिए । यहिक्रममा कुन्जनाले उनलाई आफ्नो घर बेचेरै भएपनि उक्त बस्ती निर्माण कार्य सकाउन सुझाव दिईन् । कुन्जनाले सीतारामलाई भनेकी थिईन्, ‘दर्शक हँसाएर कमाएको पैसाले बनाएको घर दुःखमा परेका दर्शकको अनुहारमा खुशी ल्याउनकै लागि त खर्च हुने हो ।’

जसोतसो पहिलो बस्ती निर्माण भयो । तर कुन्जनालाई भने त्यो बस्ती सोचेजस्तो नभएको आभाष भयो । उनले सीतारामसँग बेलाबखतमा भन्ने गर्थिन्, ‘यस्तो बस्ती निर्माण गर्न मन छ जहाँ हरेक प्रकारका चिटिक्कका घर होस्,बाल बालिकालाई खेल्नको लागि छुट्टै मैदान होस्, चौडा बाटो होस्, बगैँचा होस्, समाज एक भएर बस्न पाउने एउटा सामुदायिक भवन होस्, त्यो बस्ती नै मानिसको आर्थिक आयआर्जनको स्रोत बनोस् । त्यहाँका मानिसको जीवनस्तर सुध्रेको महसुस सबैले गर्न सकुन् । यस्तै बस्तीको आवश्यकता बुझेर समाज मिलाउने, शान्ती फैलाउने र फिजाउने बाटोमा देश अघि बढ्न सकोस् ।’उनको यहि सपना पूरा गर्ने प्रयासमा‘गिरान्चौर एकिकृत नमुना बस्ती’निर्माण भएको सीताराम बताउँछन् ।

दुईवटा बस्ती निर्माणले मात्रै समाज सेवाबाट सीताराम र कुन्जनाको मन भरिएन । फेरि उनीहरुले महोत्तरीको मुसहर बस्ती निर्माण गरे । त्यहाँका बाल बालिकालाई बिद्यालय जाने व्यवस्था गरिदिए । यो बस्तीको काम सकिएपछि उनीहरुले नमुना नेपाल बनाउने घोषणा गरेका थिए । तर यसको काममा लाग्नु भन्दा अगाडि नै तराईमा बाढी आएर केही तराई बासीहरु घरबार बिहिन हुनपुगे । उनीहरुले तत्कालका लागि नमुना नेपालको काम छोडेर रौतहटमा सन्तपुर बस्ती निर्माण कार्यमा जुटे । यो बस्तीको काम आधा भईसकेको छ । जीवनमा जति पनि काम भए ती सबै काम कुन्जनाको आँट र सहयोगले नै पूरा भएको सीताराम बताउँछन् । कुन्जना पनि जीवनमा सीतारामको साथ र सहयोगको कुनै मोल नभएको बताउँछिन् ।-गफगाफ बाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्