मंसिर २१, दाङ । दाङको तुलसीपुरमा बिहीबार साँझ गोली चलेको छ ।
तुलसीपुर उपमहानगरपालिकाको अरनिको मैदान मतदान केन्द्रको मतपेटिका संकलन केन्द्रभित्र केही व्यक्ति जबर्जस्ती पस्न खोजेपछि दुई राउण्ड हवाई फायर गर्नुपरेको दाङ प्रहरी प्रमुख एसपी दुर्गा सिंहले जानकारी दिइन् ।
प्रहरीले स्थानीय घनश्याम नेपाली र लिला विकलाई पक्राउ समेत गरेको छ । उनीहरु को हुन् र किन मतपेटिका संकलन केन्द्रभित्र प्रवेश गर्न खोजे भनेर अनुसन्धान भइरहेको एसपी सिंहले बताइन् ।
स्थानीयबासीले भने प्रहरीले विना कारण हवाइ फायर गरेर तुलसीपुरको शान्त वातावरणलाई आतंकित बनाएको आरोप लगाएका छन् । ‘प्रहरीले लखेटेर ति व्यक्तिहरुलाई पक्रेको थियो जबकी हवाइ फायर गर्नु आवश्यक नै थिएन भनेर स्थानीयबासीले भनेका छन्,’ घोराहीबाट पत्रकार पाण्डव शर्माले भने ।
आज दाङमा शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको छ र करिब ६९ प्रतिशत मत खसेको छ । हाल जिल्लाका बिभिन्न केन्द्रहरुबाट मतपेटिका संकलनको काम भइरहेको छ । जिल्लाका कोइलाबास, कालाकाटे लगायतका स्थानबाट मतपेटिका सदरमुकाम ल्याउने काम भइरहेको छ ।
रातिसम्म सबै मतपेटिका सदरमुकाम आइपुग्ने र सर्वदलीय बैठक बसेर मतगणनाबारे आवश्यक निर्णय लिने जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ । स्रोत: अनलाइनखबर
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।