समाचार

कर्णालीमा थपिए ५४ जना नयाँ कोरोनाका संक्रमित

By Thah Online

June 07, 2020

काठमाण्डौँ, जेठ २५ कर्णाली प्रदेशमा थप ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले गराएको दिउँसो २ बजेसम्मको अपडेटमा कर्णालीमा संक्रमितको संख्या ६ सय ४१ पुगेको छ।

आज पुष्टि भएका संक्रमितमध्ये सबैभन्दा बढी सल्यानका २८ जना छन्। सल्यालनका बनगाड कुपिन्डे नगरपालिकाका २२ जना बेलखोला गाउँपालिकाका ३ र कुमाख गाउँपालिकाका २ जनामा संक्रमण पुष्टि भएको हो।

प्रदेश अस्पताल सुर्खेत र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका २० जनामा पनि संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएकामध्ये बराहताल गाउँपालिकाका २ जना, भेरीगंगा गाउँपालिकाका २ जना, वीरेन्द्रनगर नगरपालिकाका २ जना, चौकुने गाउँपालिकाका २ जना, लेकबेसी नगरपालिकाका ६ जना, पञ्चपुरी नगरपालिकाका ६ जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै, दैलेखको भैरवी गाउँपालिकाका २ जना र चामुन्डा बिन्द्रासैनी नगरपालिकाका एक जना गरी तीन जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा कालिकोटका तीन जनामा संक्रमण पुष्टि भएको छ। कालिकोटको खाडाचक्र नगरपालिकाका २ र महावै गाउँपालिकाका ३ जनामा संक्रमण पुष्टि भएको हो।