प्रहरी थुनाभित्र मृत्यु प्रकरण : प्रहरीविरुद्ध आक्रोश बढ्दै



काठमाण्डौँ, जेठ ३०
धनुषाको सबैला नगरपालिकाको इलाका प्रहरी कार्यालय थुनुवा कक्षभित्र घाँटीमा पासो लगाएर आत्महत्या गरेको भनिएका ट्रयाक्टर चालकको मृत्युसम्बन्धी घटना पेचिलो बन्दै गएको छ ।

दुई साता अगाडि सबैला–१२ स्थित रघुनाथपुरमा ट्रयाक्टरको ठक्करले स्थानीय एक महिलाको मृत्यु भएको थियो । दुर्घटना गरेको उक्त ट्रयाक्टरका चालक सोही वडामा पर्ने बरकुर्वा निवासी २२ वर्षीय शम्भु सादा भोलिपल्ट धनुषाधाम इलाका प्रहरी कार्यालयमा हाजिर भए । त्यसको भोलिपल्ट सादालाई इलाका प्रहरी कार्यालय सबैलाको जिम्मा लगाइयो ।

सवारी ज्यानसम्बन्धी मुद्दामा जेठ १४ गतेदेखि इलाका प्रहरी कार्यालय सबैलाको थुनामा रहेका सादा गत मंगलबार राति करिब दुई बजे थुनुवा कक्षभित्रैको शौचालयमा घाँटीमा पासो लागेको अवस्थामा मृत भेटिए ।

सादाले आत्महत्या गरेको भन्दै प्रहरीले घटना भएको एक घण्टाभित्रै मृतक परिवारको सदस्यलाई प्रहरी कार्यालयमा बोलाएर घटनास्थल मुचुल्का उठायो र लगत्तै पोस्टमार्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल पुर्‍यायो । यता, प्रहरीले शम्भुको हत्या गरी झुन्ड्याएको र घटनाको ढाकछोप गर्न खोजेको भन्दै पीडित पक्ष प्रहरीविरुद्ध प्रदर्शनमा उत्रियो । बिहान करिब साढे सात बजे वरकुर्वाबाट आएको प्रदर्शनकारी समूहले इलाका प्रहरी कार्यालय परिसरमा रहेको उक्त कार्यालय र इलाका प्रहरी कार्यालय यदुकुहाबाट आएको समेत दुईवटा प्रहरी भ्यानमा तोडफोड गर्नुको साथै कार्यालय भवनका झ्यालका सीसा फुटाइदियो । प्रहरीले तीन राउन्ड अश्रुग्यास प्रहार गरेपछि भीड तितरबितर भएको थियो ।

इलाका प्रहरी कार्यालय घेराउ गर्न पुगेको आक्रोसित भीड अश्रुग्यास छुटेपछि तत्काल छेउ त लाग्यो । तर, तनाव कायमै रहयो । प्रहरीको थुनाभित्र शंकास्पद मृत्युसम्बन्धी घटना झनै चर्किने देखेपछि जिल्ला प्रहरी प्रमुख एसपी रमेश बस्‍नेत स्वयं इलाका प्रहरी कार्यालय सबैला पुगेर पीडित पक्षसँग वार्ता गरे । सबैलाका नगर प्रमुख विजयशंकरप्रसाद साहको मध्यस्थतामा उनकै कार्यकक्षमा वार्ता भएको थियो । तत्काल केही सर्तका आधारमा मृतक पक्षले पोस्टमार्टम गरी शव बुझ्‍न तयार भएको देखिए पनि घटना झनै पेचिलो बन्दै गयो ।

भोलिपल्ट मृतक पक्षबाट आफूहरूले विश्वास गर्न सक्ने कम्तीमा एक जना डाक्टरसहितको संलग्‍नतामा मात्रै पोस्टमार्टम गर्नुपर्ने सर्त आयो । उनीहरूकै माग अनुरूप प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले सिरहामा कार्यरत डाक्टर दिलिप सादालाई बोलाए । फेरि अर्को समस्या तेर्सियो । प्रादेशिक अस्पतालका डाक्टरहरूले बाहिरकै डाक्टर बोलाउने हो भने आफूहरू पोस्टमार्टममा सहभागी नहुने अडान लिइदिए ।

परिणामतः मंगलबार राति मृत्यु भएको शव शुक्रबार दिउँसोसम्म पोस्टमार्टमको पर्खाइमा कुहिँदैछ । शव नै कुहिएपछि पोस्टर्माटमको रिपोर्टले मृत्युको वास्तविक कारण खुलाउन सक्ने, नसक्ने सवाल छँदैछ । यता, सिंगो दलित समुदाय आन्दोलनमा उत्रेका छन्, जो स्थानीय प्रशासनलाई अर्को टाउको दुखाइ बन्न पुगेको छ ।

शुक्रबार बिहानैदेखि सबैला नगरपालिकाको विभिन्न वडा र चोकमा टायर बालेर सडक अवरुद्ध गरिएको छ । दलित समुदायका अगुवा र नेताहरूले बजारमा विरोधसभा आयोजना गरेका छन् । विरोधसभामा सहभागी हुन जिल्लाका विभिन्न पालिकासमेत अन्य जिल्लाबाट समेत आउनेक्रम जारी छ ।

इलाका प्रहरी कार्यालयमा सवारी ज्यानसम्बन्धी मुद्दा पुर्पक्ष गर्न थुनामा रहेका शम्भुको हत्या नै भएको हो कि आत्महत्या ? प्रश्न अझै अनुत्तरित छ । सबैला बजारमा आयोजना भइरहेको विरोधसभापछि मात्रै शवको पोस्टमार्टम गर्ने कि नगर्ने भन्ने विषयमा निर्णय लिने मृतक परिवारको भनाइ छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्